२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प: ५ जनाको मृत्यु, सुनामीको चेतावनी

फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प: ५ जनाको मृत्यु, सुनामीको चेतावनी

न्युयोर्क- सोमबार बिहान दक्षिणी फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापानलगायतका देशमा सुनामीको चेतावनी जारी गरिएको छ।

भूकम्पमा परी कम्तीमा ५ जनाको ज्यान गएको रोयटर्सले जनाएको छ। यसअघि प्रहरीले एक जनाको मृत्यु भएको पुष्टि गरेको थियो। मुख्य भूकम्पपछि कम्तीमा १६ वटा परकम्प मापन भएका छन्। डरले मानिसहरू घर बाहिर निस्किएर सुरक्षित स्थानमा बसिरहेका छन्।

भूकम्पको केन्द्रबिन्दु दक्षिणी टापु मिन्डानाओको जेनेरल सान्तोस सहरको समुद्री तटमा रहेको थियो। फिलिपिन्सको भूगर्भ निकायका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर छ। तर, जर्मन अनुसन्धान केन्द्रले ५० र अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले ३५ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको जनाएका छन्।

फिलिपिन्सका राष्ट्रपतिले सबै सरकारी निकायलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। उनले नागरिकलाई सुनामीबाट बच्न अग्लो स्थानतर्फ सर्न आग्रह गरेका छन्।

यसैबीच, इन्डोनेसियाका केही स्थानमा ३ फिटसम्मको सुनामी देखिएको यूएसजीएसले जनाएको छ।