२९ जेष्ठ २०८३, शुक्रबार
12 June 2026, Friday

अमेरिकी हेलिकप्टर खसालेको ट्रम्पको दाबी, सेनाले भन्यो- ‘दुर्घटना’

अमेरिकी हेलिकप्टर खसालेको ट्रम्पको दाबी, सेनाले भन्यो- ‘दुर्घटना’

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज नजिकै अमेरिकी सेनाको एक हेलिकप्टर खसालेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनले यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन्।

ट्रम्पले स्ट्रेट अफ हर्मुजमा गस्ती गरिरहेको अत्याधुनिक अपाचे हेलिकप्टरलाई इरानीहरूले खसालेको दाबी गरेका छन्। हेलिकप्टरमा सवार दुई पाइलट सुरक्षित रहेको जानकारी दिँदै उनले यस आक्रमणको अमेरिकाले आवश्यक जवाफ दिने बताए।

तर, अमेरिकी सैन्य बलको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले भने ट्रम्पको दाबीभन्दा फरक विवरण सार्वजनिक गरेको छ। सेन्टकमले ओमानको तटीय क्षेत्रमा उक्त विमान दुर्घटनामा परेको र दुई चालक दलका सदस्यहरूलाई दुई घण्टाभित्रै उद्धार गरिएको जनाएको छ। उसले विमान खस्नुको कारणबारे अनुसन्धान भइरहेको बताएको छ।

सेन्टकमले इरानी संलग्नताबारे अहिलेसम्म औपचारिक पुष्टि गरेको छैन। इजरायल र इरानबीच जारी प्रतिशोधपूर्ण आक्रमण र लेबनानमा भएको हवाई हमलाका कारण मध्यपूर्वमा तनाव बढिरहेका बेला यो घटना बाहिर आएको हो।