३१ जेष्ठ २०८३, आइतवार
14 June 2026, Sunday

हर्मुज जलमार्ग खुलाउन ट्रम्पको पहल, इरान–अमेरिका शान्ति सम्झौता नजिक

हर्मुज जलमार्ग खुलाउन ट्रम्पको पहल, इरान–अमेरिका शान्ति सम्झौता नजिक

न्युयोर्क- अमेरिका र इरानबिच चलिरहेको युद्ध रोक्न शान्ति सम्झौता अन्तिम चरणमा पुगेको छ। मध्यस्थकर्ता देश पाकिस्तानले सम्झौता इतिहासमै सबैभन्दा नजिक पुगेको र २४ घण्टाभित्रै हस्ताक्षर हुन सक्ने दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ता हुने जी–७ शिखर सम्मेलनमा हर्मुज जलमार्गबाट बारुदी सुरुङ हटाउने विषयमा आफ्ना सहयोगी देशहरूसँग छलफल गर्ने भएका छन्। बेलायत र फ्रान्सले पनि जलमार्ग खुलाउने यस काममा सघाउन चासो देखाएका छन्।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले कतारका प्रधानमन्त्रीलाई शान्ति सम्झौता छिट्टै हस्ताक्षरका लागि तयार भएको बताएका छन्। सम्झौताको विद्युतीय हस्ताक्षरपछि अर्को हप्ता प्राविधिक विषयमा थप कुराकानी हुनेछ।

इरानले पनि यो विषयमा सकारात्मक प्रतिक्रिया दिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले आगामी केही दिनमै सम्झौता टुंगिने सम्भावना उच्च रहेको बताए। इरानी विदेशमन्त्री अब्बास अराक्चीले पनि सामाजिक सञ्जालमा सम्झौता धेरै नजिक रहेको लेखेपछि ट्रम्पले त्यसलाई सेयर गरेका थिए। अहिलेको छलफल युद्ध रोक्न मात्र केन्द्रित रहेको र परमाणु मुद्दामा कुनै कुरा नभएको इरानले जनाएको छ।

यसैबिच, युद्धको सुरुवाती आक्रमणमा मारिएका इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्तिम संस्कार आगामी जुलाईमा गरिने भएको छ। इरानी सरकारी टेलिभिजनका अनुसार जुलाई ४ देखि ९ सम्म विभिन्न सहर हुँदै उनलाई पवित्र तीर्थस्थल मशहादमा गाडिनेछ।