१ असार २०८३, सोमवार
15 June 2026, Monday

अमेरिका र इरानबीच शान्ति सम्झौता, ट्रम्पद्वारा नाकाबन्दी हटाउने घोषणा

अमेरिका र इरानबीच शान्ति सम्झौता, ट्रम्पद्वारा नाकाबन्दी हटाउने घोषणा

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार अमेरिका र इरानबीचको शान्ति सम्झौता पूर्ण भएको घोषणा गरे। यसका साथै उनले हर्मुज जलडमरुमध्यलाई टोल-मुक्त रूपमा खुला गर्न र इरानी बन्दरगाहहरू विरुद्ध लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन अनुमति दिए।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, “इरानको इस्लामिक गणतन्त्रसँगको सम्झौता अब पूर्ण भएको छ। म यसद्वारा हर्मुज जलडमरुमध्यलाई निःशुल्क खुला गर्ने पूर्ण अधिकार दिन्छु र अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउने अनुमति पनि प्रदान गर्दछु।” उनले थप उत्साह व्यक्त गर्दै विश्वका जहाजहरूलाई आफ्ना इन्जिन सुरु गर्न र तेललाई बग्न दिन आग्रह गरे।

यसअघि द वाल स्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा ट्रम्पले सम्झौतामा आफूले इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गर्ने वा उपराष्ट्रपति जेडी भान्सले व्यक्तिगत रूपमा उपस्थित भई हस्ताक्षर गर्ने बताएका थिए। सम्झौताअनुसार इरानले आणविक हतियार प्राप्त नगर्ने प्रतिवद्धता जनाउने र हर्मुज जलडमरुमध्य तत्काल खुला गरिने उनले बताए। इरानबाट आणविक सामग्रीहरू हटाउन कुनै हतारो नरहेको उल्लेख गर्दै उनले आगामी एक वा दुई महिनाभित्र यो काम हुने बताए। इरानीहरूमाथि कडा आणविक निरीक्षण हुने ट्रम्पले बताए पनि यो कसरी सञ्चालन हुनेछ भन्ने खुलाएका छैनन्। सम्झौता अन्तर्गत इरानलाई कुनै नगद उपलब्ध गराइने छैन, तर उनीहरूमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा हुनसक्ने उनले बताए।

ट्रम्पले यो घोषणा गर्नु केही समयअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल एक्समार्फत सम्झौताको औपचारिक हस्ताक्षर समारोह आगामी जुन १९ मा स्विट्जरल्याण्डमा हुने जानकारी दिएका थिए।