६ असार २०८३, शनिबार
20 June 2026, Saturday

ब्रुकलिनको ऐतिहासिक चर्चमा भीषण आगलागी

ब्रुकलिनको ऐतिहासिक चर्चमा भीषण आगलागी

न्युयोर्क- अमेरिकाको ब्रुकलिनमा रहेको एउटा ऐतिहासिक चर्चमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। आगलागीबाट चर्चको माथिल्लो गजुर पूर्ण रूपमा जलेर भत्किएको छ।

बुशविक एभिन्युमा रहेको ‘साउथ बुशविक रिफर्म्ड चर्च’ मा लागेको आगोको ज्वाला धेरै टाढाबाट पनि प्रष्ट देख्न सकिन्थ्यो। यो चर्च सन् १८५० को दशकदेखि त्यहाँ रहेको थियो। घटनाको जानकारी पाएलगत्तै करिब २०० जना अग्नि नियन्त्रकहरू आगो निभाउन घटनास्थल पुगेका थिए।

अहिलेसम्म यस घटनामा कोही पनि घाइते भएको खबर आएको छैन। शुक्रबार साँझसम्म पनि अग्नि नियन्त्रकहरू आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका थिए। ऐतिहासिक चर्चमा आगो कसरी लाग्यो भन्ने कुरा अझै खुल्न सकेको छैन र यसको अनुसन्धान भइरहेको छ।