८ असार २०८३, सोमवार
22 June 2026, Monday

अमेरिका-इरान शान्ति सम्झौताको चार देशद्वारा स्वागत

अमेरिका-इरान शान्ति सम्झौताको चार देशद्वारा स्वागत

न्युयोर्क- इजिप्ट, पाकिस्तान, साउदी अरब र टर्कीका विदेशमन्त्रीहरूले आइतबार कायरोमा भेटेर अमेरिका र इरानबीच भर्खरै भएको शान्ति सम्झौताको बारेमा छलफल गरे।

बैठकपछि संयुक्त विज्ञप्ति निकाल्दै उनीहरूले यो सम्झौताको स्वागत गरे। यसले क्षेत्रीय तनाव कम गर्न मद्दत गर्ने उनीहरूले बताए। यो सम्झौताले सुरक्षा, स्थिरता, ऊर्जा बजार र व्यापारमा आउने जोखिम कम गर्ने उनीहरूको विश्वास छ। उनीहरूले सम्झौता लागू गर्न सबै पक्षलाई इमानदार बन्न आग्रह पनि गरे र बाँकी मुद्दा सुल्झाउन छिटो वार्ता गर्नुपर्नेमा जोड दिए।

खाडी र लेभान्ट क्षेत्रको सुरक्षा चासोलाई सम्बोधन गर्नुपर्ने मन्त्रीहरूले बताए। गत हप्ता मात्र इरान, अमेरिका र पाकिस्तानले लेबनान लगायतको क्षेत्रमा युद्ध अन्त्य गर्ने सहमति गरेका थिए।

यसैगरी, दिगो शान्ति स्थापनाका लागि प्यालेस्टाइनको मुद्दा मुख्य भएको मन्त्रीहरूले बताए। उनीहरूले सन् १९६७ को सिमानाका आधारमा पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना गर्ने अधिकारको समर्थन पनि दोहोर्‍याए।