लस एन्जलसको चिस्यान केन्द्रमा भीषण आगलागी, संकटकाल घोषणा
- ०८ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको लस एन्जलस शहरमा भीषण आगलागी भएपछि स्थानीय संकटकाल घोषणा गरिएको छ। एउटा चिस्यान केन्द्र (कोल्ड–स्टोरेज) बाट सुरु भएको आगो र बाक्लो धुवाँले शहर प्रभावित भएपछि प्रशासनले यो कदम चालेको हो। संकटकाल लागू भएसँगै आगो नियन्त्रण गर्न राज्यस्तरबाट थप स्रोत र साधन परिचालन गरिनेछ।
यो आगो शहरको मध्यभाग नजिकै रहेको लिनिएज लजिस्टिक्सको चिस्यान केन्द्रबाट सुरु भएको हो। त्यहाँ ठूलो मात्रामा जमेका खानेकुरा राखिएका थिए। करिब ४६ हजार वर्गमिटरमा फैलिएको यो भवन भित्र स्टिलका पर्खाल र बाक्लो फोम प्रयोग गरिएकोले आगो नियन्त्रण गर्न निकै गाह्रो भएको अधिकारीहरूले बताए।
अग्नि नियन्त्रण विभागका प्रमुख जेमी मोरले भवनमा प्रयोग भएको बाक्लो फोम भित्रभित्रै सल्किएर पानी खन्याउँदा पनि लगातार धुवाँ निस्किरहेको बताए। छानामा रहेका सौर्य प्यानल (सोलार प्यानल) र चिस्याउन प्रयोग हुने एमोनिया ग्यासले सुरुमा जोखिम बढाए पनि सुरक्षाकर्मीले ग्यासलाई सुरक्षित रूपमा हटाएका छन्। तर, आगो लामो समयसम्म बलिरहँदा भित्रको खानेकुरा सडेर वातावरण र जनस्वास्थ्यमा नयाँ संकट आउन सक्ने चिन्ता गरिएको छ।
शनिबार दिउँसोसम्म यस घटनामा कोही पनि घाइते भएका छैनन्। बाहिरी कामदारहरूले छानामा सौर्य प्यानल परीक्षण गर्ने क्रममा आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिले घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।