श्वेतगंगा हाइड्रोपावरद्वारा जनप्रतिनिधिमाथि दुर्व्यवहार, कानुनी कारबाही गर्न गाउँपालिकाको माग
- १० असार २०८३
- २ मिनेटको पढाई
रामेछाप : रामेछापको लिखु तामाकोशी गाउँपालिकाले वडा अध्यक्षसहित जनप्रतिनिधिमाथि गालीगलौज तथा अभद्र व्यवहार गरिएको आरोप लगाउँदै घटनामा संलग्न स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडका जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेको छ।
गाउँपालिकाले स्थानीय सडक निर्माण कार्यमा अवरोध सिर्जना गरिएको र निर्वाचित जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको भन्दै घटनाप्रति गम्भीर आपत्ति जनाएको हो। गाउँपालिका अध्यक्ष केशव महतले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वडा नं. २ सैपुका अध्यक्ष सन्तोष पौडेलसहित जनप्रतिनिधिमाथि गालीगलौज तथा अभद्र व्यवहार भएको छ।
गाउँपालिका र सडक बोर्ड नेपालको साझेदारीमा चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित धारापानी–सिरिसे सडक मर्मत योजनाअन्तर्गत वडा नं. २ को सेतीखोला आसपास नाला निर्माण कार्य भइरहेको बेला हाइड्रोपावर कम्पनीका प्रतिनिधिले उपभोक्ता समितिलाई निर्माण कार्य रोक्न दबाब दिएको उल्लेख छ ।
विज्ञप्तिमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाने क्रममा जनप्रतिनिधिहरूलाई बाटोमै रोकी स्थानीय सरकारद्वारा सञ्चालित निर्माण कार्यले आयोजनामा असर पुगेको भन्दै काम अवरुद्ध गराइएको उल्लेख छ। साथै गाउँपालिकाले कुनै पनि आयोजना सम्बन्धी विवाद वा गुनासो भए सम्बन्धित निकायबीच समन्वय र कानुनी प्रक्रियाबाट समाधान खोजिनुपर्नेमा विकास निर्माण कार्यमै प्रत्यक्ष अवरोध सिर्जना गर्नु र निर्वाचित जनप्रतिनिधिप्रति अमर्यादित व्यवहार गर्नु लोकतान्त्रिक मूल्य–मान्यता र सुशासनको भावना विपरीत भएको जनाएको छ।
विज्ञप्तिमा नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई दिएको अधिकारअनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सडकको संरक्षण, सञ्चालन र व्यवस्थापन गर्दै आएको उल्लेख गरिएको छ। हलेदे–धोबी–सिरिसे–ढाँडे सडक खण्ड हाइड्रोपावर आयोजना निर्माण हुनुअघि नै सञ्चालनमा रहेको सार्वजनिक सडक भएको जनाउँदै गाउँपालिकाले आयोजनाका संरचना निर्माणका क्रममा पेन स्टक पाइप तथा अन्य संरचना व्यवस्थित व्यवस्थापन नगर्दा बागमती र कोशी प्रदेश जोड्ने सडकको आवागमन प्रभावित भएको दाबी गरेको छ।
गाउँपालिकाले सार्वजनिक विकास निर्माण कार्यमा अवरोध पुर्याउने तथा जनप्रतिनिधिमाथि अमर्यादित व्यवहार गर्ने कार्यमा संलग्न आयोजनाका प्रमुख तथा जिम्मेवार कर्मचारीमाथि छानबिन गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही नगरिए स्थानीय स्तरमा असन्तुष्टि बढ्न सक्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित हाइड्रोपावर कम्पनीले नै बहन गर्नुपर्ने चेतावनी गाउँपालिकाले दिएको छ।