डोना हिमताल फुटे लमजुङदेखि तनहुँसम्मका बस्ती प्रभावित हुन सक्ने
- ३१ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना (थुलागी) हिमताल फुट्न सक्ने जोखिम बढेपछि मर्स्याङ्दी नदीको तल्लो तटीय क्षेत्रमा त्रास फैलिएको छ। हिमताल फुटेर ठूलो बाढी आएमा मर्स्याङ्दी नदी हुँदै लमजुङ, गोरखा र तनहुँका बस्तीहरूमा गम्भीर असर पर्ने देखिएको छ।
पछिल्लो समय हिमतालको आकार पहिलेभन्दा बढ्दै गएको छ। नासो गाउँपालिका–२ का वडाध्यक्ष रवि गुरुङले तालको आकार विस्तार हुँदै गएको र यसको संरक्षण गर्न धेरै बजेट लाग्ने भएकाले प्रदेश र केन्द्र सरकारसँग सहयोग मागिएको बताए। उनले प्राकृतिक सुन्दरताका कारण यो ताल हेर्न बर्सेनि करिब २०० पर्यटक पुग्ने गरेको पनि जानकारी दिए।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले तालमा बालुवा र माटो थुप्रिँदै गएकाले जुनसुकै बेला जोखिम निम्तिन सक्ने बताए। जिल्लामा विपद् व्यवस्थापनको तयारी सीमित मात्र रहेकाले जोखिम कम गर्न राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणसँग अनुरोध गरिएको उनले स्पष्ट पारे। यस्तै, हिमतालका जानकार सुदन विकास महर्जनले स्थलगत अध्ययन गरेर यस्ता तालको हरेक दुई–तीन वर्षमा नियमित अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए।
यदि ताल फुटेर बाढी आएमा मर्स्याङ्दी करिडोरका बस्ती, सडक, पुल र जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुग्नेछ। लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बाढी आएमा सुन्दरबजार, बेँसीसहरका तल्लो क्षेत्र र जलविद्युत् आयोजनाहरू गम्भीर जोखिममा पर्ने बताए। अहिलेको स्रोतसाधनले ठूलो विपद् सामना गर्न कठिन हुने भन्दै उनले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएर मानवीय क्षति कम गर्ने तयारी भइरहेको जानकारी दिए।