१३ असार २०८३, शनिबार
27 June 2026, Saturday

विश्वकपको गलत अनुमानले एनजे ट्रान्जिटलाई प्रतिखेल २० लाख डलरसम्म नोक्सान

विश्वकपको गलत अनुमानले एनजे ट्रान्जिटलाई प्रतिखेल २० लाख डलरसम्म नोक्सान

न्युयोर्क- फिफा विश्वकप २०२६ का खेलहरूमा यात्रु संख्याको गलत अनुमानका कारण न्यू जर्सी ट्रान्जिट (एनजे ट्रान्जिट) ले ठूलो आर्थिक नोक्सानी ब्यहोर्नु परेको छ। अधिकारीहरूका अनुसार प्रत्येक खेलमा अनुमान गरिएभन्दा आधा मात्रै यात्रुले यात्रा गर्दा एजेन्सीलाई प्रतिखेल २० लाख डलरसम्म घाटा भइरहेको छ।

न्युयोर्क र न्यू जर्सी स्टेडियममा फाइनलसहित कुल आठवटा खेलहरू तय गरिएका छन्। फिफा र अमेरिकन ड्रिम मलको अनुमानको आधारमा एनजे ट्रान्जिटले हरेक खेलको दिन ४०,००० यात्रुलाई ओसारपसार गर्ने गरी व्यापक तयारी गरेको थियो। तर, अहिलेसम्मका खेलहरूमा औसत २०,००० देखि २६,००० यात्रुले मात्र रेल सेवा प्रयोग गरेका छन्।

एनजे ट्रान्जिटका सीईओ क्रिस कोलुरीले यो अनुमान गलत सावित भएको बताए। एजेन्सीले खेलको समयमा न्युयोर्क पेन स्टेसनलाई अन्य सर्वसाधारणका लागि बन्द गरेर विश्वकपका दर्शकलाई मात्र प्रवेश दिएको थियो। यति ठूलो तयारी आवश्यक नभएको अवस्थामा खर्च गरिँदा अहिलेसम्मका चार खेलमा मात्रै करिब ८० लाख डलर नोक्सान भइसकेको छ र यो रकम १६ मिलियन (१ करोड ६० लाख) डलरसम्म पुग्न सक्ने अनुमान छ।

यता गभर्नर क्याथी होकुलले भने कम यात्रु हुनुको कारण रेलको महँगो टिकट भएको बताएकी छिन्। सुरुमा राउन्ड-ट्रिप टिकटको मूल्य १५० डलर तोकिएकोमा पछि घटाएर ९८ डलर बनाइएको थियो, जुन अझै पनि महँगो मानिएको छ। यस विषयमा फिफा र अमेरिकन ड्रिम मलले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।