१८ असार २०८३, बिहिबार
2 July 2026, Thursday

न्युयोर्कका मेयर माम्दानीको आलोचना: एसी ७८ डिग्रीमा राख्न सुझाव दिएपछि आक्रोश

न्युयोर्कका मेयर माम्दानीको आलोचना: एसी ७८ डिग्रीमा राख्न सुझाव दिएपछि आक्रोश

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान माम्दानीले अत्यधिक गर्मीका बेला सर्वसाधारणलाई आफ्नो एयर कन्डिसनर (एसी) ७८ डिग्री फरेनहाइट (करीब २५.५ डिग्री सेल्सियस) मा सेट गर्न सुझाव दिएपछि उनको तीव्र आलोचना भएको छ। सामाजिक सञ्जालमा धेरैले उनको यो कदमलाई ‘कम्युनिष्ट’ र ‘समाजवादी’ शैली भन्दै आक्रोश पोखेका छन्।

मेयर माम्दानीले एक्स (ट्विटर) मा पोस्ट गर्दै पावर ग्रिडमा दबाब कम गर्न र विद्युत आपूर्ति अवरुद्ध हुन नदिन एसीको तापमान ७८ डिग्रीमा राख्न, बत्ती निभाउन र प्रयोगमा नआएका इलेक्ट्रोनिक्स सामान अनप्लग गर्न आग्रह गरेका थिए। उनले सरकारी भवनहरूमा पनि यो नियम लागु गरिएको बताएका थिए।

तर, उनको यो पोष्ट भाइरल भएसँगै रिपब्लिकन गभर्नर सारा हकाबी स्यान्डर्स र सांसद ब्रान्डन गिल लगायतका नेता तथा सेलिब्रेटीहरूले उनको आलोचना गरे। कतिपयले सरकारले मानिसहरूको घरलाई नै तातो कोठा बनाउन खोजेको आरोप लगाए भने कतिपयले आफूले ६८ डिग्रीभन्दा माथि एसी कहिल्यै नराख्ने भन्दै आक्रोश व्यक्त गरे। टिभी कार्यक्रम सञ्चालक बिल माहेरले त उनलाई ‘सच्चा कम्युनिष्ट’ को संज्ञा समेत दिएका छन्।

यस आलोचनाका बाबजुद न्युयोर्कमा मेयर माम्दानीको राजनीतिक प्रभाव भने बलियो बन्दै गएको छ। हालैको प्राथमिक निर्वाचनमा उनले समर्थन गरेका उम्मेदवारहरू विजयी भएका छन् भने पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पनि उनीसँग फोनमा कुराकानी गरेकी छन्।