१८ असार २०८३, बिहिबार
2 July 2026, Thursday

एम्पायर स्टेट बिल्डिङको टुप्पोमा पुगेर विवाहको प्रस्ताव, सुरक्षा व्यवस्थामाथि प्रश्न

एम्पायर स्टेट बिल्डिङको टुप्पोमा पुगेर विवाहको प्रस्ताव, सुरक्षा व्यवस्थामाथि प्रश्न

न्युयोर्क- न्युयोर्कमा रहेको प्रसिद्ध ‘एम्पायर स्टेट बिल्डिङ’ को १ हजार ४ सय ५४ फिट अग्लो एन्टेनामा चढेर एक जोडीले विवाहको प्रस्ताव राखेका छन्। यो अनौठो र खतरनाक हर्कतपछि उक्त ऐतिहासिक भवनको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

रुसी नागरिक ३३ वर्षीया एन्जेला निकोलाउ र ३२ वर्षीय इभान कुज्नेत्सोभ भवनको १०२ औँ तलामा रहेको अवलोकन डेकको एउटा जालीको ढोकाबाट विना रोकतोक प्रतिबन्धित क्षेत्रमा छिरेका थिए। त्यहाँ घुमिरहेका अन्य पर्यटकले उनीहरू कर्मचारी होलान् भनेर सोचेका थिए। एन्टेनाको धेरै माथि पुगेर उनीहरूले एउटा ब्यानर फहराए र इभानले घुँडा टेकेर एन्जेलालाई औंठी लगाउँदै विवाहको प्रस्ताव गरे।

भवनको टुप्पोबाट तल ओर्लिने क्रममा न्युयोर्क प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूविरुद्ध जवर्जस्ती भित्र पसेको, लापरवाहीपूर्ण काम गरेको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरेको छ। यो जोडी संसारभरका अग्ला भवनहरूमा विना अनुमति चढ्नका लागि चर्चित छ। यस घटनाका कारण केही समयका लागि त्यहाँका पर्यटकहरूलाई बाहिर निकालिएको थियो। भवन व्यवस्थापनले भने यस घटनाबाट कसैलाई कुनै खतरा नभएको दाबी गरेको छ।