१९ भदौ २०८३, शुक्रबार
4 September 2026, Friday

अमेरिका–मेक्सिको सीमामा ४६ अर्ब डलरको ‘स्मार्ट पर्खाल’ बन्दै

अमेरिका–मेक्सिको सीमामा ४६ अर्ब डलरको ‘स्मार्ट पर्खाल’ बन्दै

न्युयोर्क- अमेरिकाको ट्रम्प प्रशासनले मेक्सिकोसँगको सीमा क्षेत्रमा आधुनिक प्रविधियुक्त ‘स्मार्ट पर्खाल’ (स्मार्ट वाल) निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। कंग्रेसबाट स्वीकृत ४६ अर्ब अमेरिकी डलरको बजेट प्रयोग गर्दै भन्सार तथा सीमा सुरक्षा (सीबीपी) निकायले धमाधम ठेक्का सम्झौता गरेर काम अघि बढाएको हो।

यो पर्खाल केवल ३० फिट अग्लो फलामे बार मात्र नभएर यसमा अत्याधुनिक सेन्सर, क्यामेरा, राडार र एआई (आर्टिफिसियल इन्टेलिजेन्स) जडित अटोनोमस निगरानी टावरहरू राखिएका छन्। जमिनमुनि फाइबर अप्टिकल केबल बिछ्याइएको छ, जसले कुनै पनि हलचललाई एआईमार्फत विश्लेषण गरी सीमा सुरक्षा बल (बोर्डर पेट्रोल) लाई तुरुन्तै सचेत गराउँछ। नदी क्षेत्रहरूमा आप्रवासी वा तस्करहरूलाई रोक्न ठूला गोलाकार विच्छेदन सामग्री (बुओएज) हरू पनि राखिएका छन्।

सीबीपीका आयुक्त रोड्नी स्कटका अनुसार हाल प्रतिहप्ता ६ माइल (१० किलोमिटर) का दरले पर्खाल निर्माण भइरहेको छ। भौगोलिक रूपमा कठिन ५३५ माइल क्षेत्रमा भने भौतिक पर्खालको सट्टा प्रविधिको मात्रै प्रयोग गरिनेछ। अर्को वर्षको यसै समयसम्म पर्खालको प्रारम्भिक खण्ड तयार भइसक्ने अधिकारीहरूले बताएका छन्।

यद्यपि, यो परियोजनाको चौतर्फी आलोचना पनि सुरु भएको छ। सीमा क्षेत्रमा मानिसहरूको आवतजावत दशकौँयताकै न्यून रहेका बेला अर्बौँ डलर खर्च गर्नुको औचित्यमाथि नागरिक अधिकारवादी र करदाता समूहहरूले प्रश्न उठाएका छन्। सीमावर्ती क्षेत्रका बासिन्दाहरूले आफ्नो निजी जग्गामा विना अनुमति सेन्सर र क्यामेराहरू राखिएको भन्दै गोपनीयता हनन भएको गुनासो गरेका छन्। विश्लेषकहरूले अत्यधिक प्रविधिका कारण आप्रवासीहरू अझ खतरनाक मार्ग रोज्न बाध्य हुने र यसले मानवीय जोखिम बढाउने चेतावनी दिएका छन्।