२५ असार २०८३, बिहिबार
9 July 2026, Thursday

अध्यागमन कारबाहीका क्रममा गोली लागी आठौँ व्यक्तिको मृत्यु

अध्यागमन कारबाहीका क्रममा गोली लागी आठौँ व्यक्तिको मृत्यु

न्युयोर्क- ह्युस्टनमा अध्यागमन अधिकारीको गोली लागेर एक मेक्सिकन नागरिकको मृत्यु भएको छ। ट्रम्प प्रशासनले गैरकानुनी आप्रवासीहरूलाई देशनिकाला गर्ने अभियान तीव्र पारेयता यस्तो कारबाहीमा परी ज्यान गुमाउने उनी आठौँ व्यक्ति हुन्।

अमेरिकी सुरक्षा अधिकारीहरूका अनुसार, लोरेन्जो सालगाडो अराउजो नामका ती व्यक्तिले पक्राउ पर्नबाट बच्न अधिकारीलाई गाडीले कुल्चिने प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षाका लागि अधिकारीले गोली चलाए। तर, लोरेन्जोको परिवारले भने उनी निर्माणको काममा जाँदै गर्दा मारिएको बताए। यस घटनापछि आप्रवासी अधिकारकर्मी र केही राजनीतिक नेताहरूले घटनाको स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गरे।

यसअघि पनि अध्यागमन कारबाहीका क्रममा विभिन्न राज्यमा ७ जनाको ज्यान गइसकेको छ। टेक्सस, मिनियापोलिस, सिकागो र क्यालिफोर्नियालगायतका स्थानमा भएका ती घटनाहरूमा सुरक्षा अधिकारीहरूले आफूमाथि खतरा भएको दाबी गर्दै आएका छन्। यद्यपि, केही घटनामा सार्वजनिक भएका भिडिओहरूले अधिकारीहरूको भनाइ झुटो भएको देखाएका छन्। यसरी मृत्यु हुनेमा केही अमेरिकी नागरिकसमेत छन्, तर हालसम्म कुनै पनि अधिकारीलाई कारबाही गरिएको छैन।