२७ असार २०८३, शनिबार
11 July 2026, Saturday

आप्रवासी बस्तीको सूचीमा ‘लिटल इटाली’ लगायतका क्षेत्र थप्दै न्युयोर्कका मेयर

आप्रवासी बस्तीको सूचीमा ‘लिटल इटाली’ लगायतका क्षेत्र थप्दै न्युयोर्कका मेयर

न्युयोर्क – न्युयोर्क सहरका मेयर जोहरान मामदानीले आप्रवासी बस्तीहरुको आधिकारिक सूचीमा थप नयाँ क्षेत्रहरु समावेश गर्ने बताएका छन्। यसअघि सार्वजनिक गरिएको नक्सामा आइरिस, यहुदी र इटालियन समुदायका मानिसहरु बस्ने ठाउँ नपरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले यस्तो निर्णय लिएका हुन्।

विश्वकप फुटबल हेर्न आउने दर्शकलाई लक्षित गर्दै निकालिएको ३० वटा बस्तीको सूची पूर्ण नभएको मेयर मामदानीले स्वीकार गरे। उनले भने, “हाम्रो सहरमा २०० भन्दा बढी जातीय समुदाय छन्, यो सूची मात्र पर्याप्त छैन। त्यसैले आगामी दिनमा नक्सामा ‘लिटल इटाली’ लगायत अन्य क्षेत्रहरु पनि थप्नेछौँ।” यो नक्सा सन् २०२३ मा अघिल्लो प्रशासनले तयार पारेको र आफूले त्यसमा लिटल सेनेगल, लिटल इजिप्ट, लिटल प्यालेस्टाइन र लिटल ओडेसा जस्ता केही बस्तीहरु मात्र थपेको उनले स्पष्ट पारे।

नक्सामा आइरिस समुदायको बाहुल्यता रहेको उडलन र ब्रिजी पोइन्ट अनि यहुदीहरुको क्षेत्र विलियम्सबर्ग नपरेपछि स्थानीयले असन्तुष्टि पोखेका थिए। लिटल इटालीको मुटु मानिने मलबेरी स्ट्रिटका व्यापारीहरुले पनि यसबाट व्यापार र जातीय पहिचान दुवैमा असर परेको बताए। सबै आप्रवासीहरुले बनाएको सहर हो भने नक्सामा सबैलाई समान रुपमा समेट्नुपर्ने उनीहरुको भनाइ थियो।

यद्यपि, इतिहासकार टाइलर एन्बाइन्डरले भने मेयरको बचाउ गरेका छन्। उनले यो सूची पुराना आप्रवासीहरुको इतिहास नभई अहिले आप्रवासीहरु कहाँ बस्छन् भन्ने कुरामा आधारित भएको बताए। यदि सबैलाई समेटेर प्रतिनिधित्व गराउने हो भने यसलाई ‘आप्रवासी बस्ती’ को सट्टा ‘जातीय बस्ती’ भन्नुपर्ने उनको सुझाव छ।