१४ साउन २०८३, बिहिबार
30 July 2026, Thursday

नेपाल र राष्ट्रसङ्घबीच सन् २०२८–२०३२ को नयाँ विकास खाका बन्दै

नेपाल र राष्ट्रसङ्घबीच सन् २०२८–२०३२ को नयाँ विकास खाका बन्दै

न्युयोर्क- नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८ देखि २०३२ सम्मका लागि नयाँ दिगो विकास सहकार्यको खाका बनाउन सुरु गरेका छन्।

शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र राष्ट्रसङ्घकी आवासीय संयोजक लीला पिटर्स याहियाको नेतृत्वमा बसेको बैठकले यसको तयारी अघि बढाएको हो। यो नयाँ खाका आउँदो १८ महिनाभित्र तयार हुनेछ र जुलाईमा यसमा सम्झौता गर्ने लक्ष्य छ। यो योजना नेपालको सोह्रौँ योजना र अतिकम विकसित देशबाट माथि उठ्ने लक्ष्यसँग मिल्ने गरी बन्नेछ।

बैठकमा डा. भट्टले दिगो विकास, जलवायु परिवर्तन र संस्थागत सुधारमा राष्ट्रसङ्घले गरेको सहयोगको तारिफ गरे। उनले युवा जनशक्ति, प्रविधि, स्वच्छ ऊर्जा र गैरआवासीय नेपालीको सीपलाई देश विकासमा लगाउनुपर्ने बताए। नयाँ खाका देशको आवश्यकता अनुसार हुनुपर्नेमा उनले जोड दिए।

यस्तै, बैठकमा यसअघिका कामको पनि समीक्षा गरियो। जलवायु परिवर्तन, विपद् व्यवस्थापन, विद्यालय दिवा खाजा, सीप विकास र स्वास्थ्य क्षेत्रका सफलताका विषयमा छलफल भयो। अबको समयमा महिलाको आर्थिक सहभागिता, युवालाई सीप र रोजगारी, जलवायुमैत्री विकास र प्रविधिमा जोड दिने सहमति भएको छ।

विश्वभर वैदेशिक सहायता घटिरहेको बेला राष्ट्रसङ्घले नेपाललाई नयाँ आर्थिक स्रोत जुटाउन र खर्च बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आवासीय संयोजक याहियाले महिला र युवामा लगानी बढाउँदै प्रविधि र समावेशी विकासमा जोड दिनसके नेपालको भविष्य अझै राम्रो हुने बताइन्।