१४ साउन २०८३, बिहिबार
30 July 2026, Thursday

अष्ट्रेलियाली टोलीको नेपाल भ्रमण सम्पन्न: व्यापार, लगानी र शिक्षामा सहकार्य बढाउने सहमति

अष्ट्रेलियाली टोलीको नेपाल भ्रमण सम्पन्न: व्यापार, लगानी र शिक्षामा सहकार्य बढाउने सहमति

काठमाडौं- अष्ट्रेलिया सरकारको एक उच्चस्तरीय टोलीले नेपालको तीन दिने भ्रमण पूरा गरेको छ। अष्ट्रेलियाको वैदेशिक मामिला तथा व्यापार विभागकी प्रथम सहायक सचिव सेरा स्टोरीको नेतृत्वमा आएको टोलीले नेपालसँग व्यापार, लगानी, शिक्षा र जलवायु परिवर्तनका विषयमा सहकार्य बढाउने छलफल गरेको छ।

भ्रमणका क्रममा स्टोरीले परराष्ट्र सचिव अमृतबहादुर राईसँग मिलेर नेपाल–अष्ट्रेलिया द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकको सह–अध्यक्षता गरिन्। यस्तै, उद्योग तथा वाणिज्य सचिव नारायणप्रसाद शर्मा दुवाडीसँग व्यापार तथा लगानी व्यवस्था समितिको पहिलो बैठक पनि सम्पन्न गरिन्। यी बैठकहरूलाई दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। भेटमा अष्ट्रेलियाले त्यहाँ रहेका नेपाली समुदायको सीप र मेहनतको खुलेर प्रशंसा गरेको थियो।

यसैगरी, स्टोरीले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटघाट गरिन्। शिक्षा क्षेत्रलाई दुई देशबीचको मुख्य आधार मान्दै उनले अष्ट्रेलियाबाट पढेर फर्केका नेपाली विद्यार्थी र त्रिभुवन विश्वविद्यालयका विज्ञहरूसँग अन्तरक्रिया गरिन्। उनले लोकतान्त्रिक मूल्य र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाप्रतिको साझा प्रतिबद्धताले नै दुई देशको सम्बन्धलाई झन् बलियो बनाएको बताइन्।

यसका साथै, भ्रमणको क्रममा उनले गोदावरीस्थित इसिमोडको ‘लिभिङ माउन्टेन ल्याब’ को अवलोकन पनि गरिन्। त्यहाँ जलवायु परिवर्तनको असर घटाउने, प्राकृतिक स्रोत व्यवस्थापन गर्ने र विपद् जोखिम कम गर्ने क्षेत्रमा अष्ट्रेलियाले निरन्तर सहयोग गर्ने उनले बताइन्। यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको अष्ट्रेलिया सरकारले जनाएको छ।