१० साउन २०८३, आइतवार
26 July 2026, Sunday

फ्रान्स र स्पेनमा भीषण डढेलो: एक लाख ६० हजारभन्दा बढी विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो: एक लाख ६० हजारभन्दा बढी विस्थापित

लेज–क्याप–फेरेट- फ्रान्स र स्पेनमा भयानक डढेलो लागेको छ। ठूलो हावाहुरी र खडेरीले गर्दा आगो द्रुत रूपमा फैलिएपछि दुवै देशबाट १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। अवस्था गम्भीर भएपछि दुवै देशले युरोपेली सङ्घसँग मद्दत मागेका छन्।

अधिकारीहरूका अनुसार फ्रान्सबाट १ लाख ४१ हजार र स्पेनको म्याड्रिड क्षेत्रबाट करिब २५ हजार मानिस घर छाड्न बाध्य भएका छन्। सुरक्षित ठाउँमा सारिएकाहरूमध्ये १ हजार २०० भन्दा बढी वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू छन्। फ्रान्सको पर्यटकीय क्षेत्र क्याप फेरेटबाट मात्रै ४४ हजार मानिसलाई डुङ्गा र गाडीमार्फत उद्धार गरिएको छ। त्यहाँ आगोले ५० भन्दा बढी घर जलेर नष्ट भएका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आगो नियन्त्रणका लागि सेना परिचालन गर्न निर्देशन दिएका छन्। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यो देशले भोगेको अहिलेसम्मकै ठूलो डढेलो भएको बताए। यता स्पेनका अधिकारीहरूले पनि आगो नियन्त्रण बाहिर पुगेको बताएका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले प्रभावित क्षेत्रको अवलोकन गर्दै छन्।

आगो निभाउने क्रममा फ्रान्समा ४० जना घाइते भएका छन् भने यसै साता फ्रान्स र इटालीमा तीन जनाको ज्यान गएको छ। सहयोगस्वरूप युरोपेली सङ्घले फ्रान्स र स्पेनमा पानी बोक्ने जहाजहरू पठाएको छ। धुवाँबाट बच्न फ्रान्समा १५ लाखवटा मास्क बाँड्ने तयारी छ।

अहिलेसम्म फ्रान्स र स्पेनमा गरी हजारौँ हेक्टर जङ्गल र जमिन जलिसकेको छ। जलवायु परिवर्तन र अत्यधिक गर्मीको कारण युरोपमा यस्तो डढेलोको जोखिम झन् बढ्दै गएको वैज्ञानिकहरूले बताएका छन्।