१० साउन २०८३, आइतवार
26 July 2026, Sunday

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँदिल्ली- भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार पदबाट राजीनामा दिएका छन्। ‘एनइइटी–युजी २०२६’ प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विवाद र त्यसको विरोधमा देशभर प्रदर्शन चर्किएपछि उनले यस्तो निर्णय गरेका हुन्।

विद्यार्थीको हितलाई ध्यानमा राख्दै र युवाहरुलाई भ्रममा पर्न नदिन आफूले मन्त्रिपरिषद्बाट राजीनामा दिएको उनले बताए। प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको राजीनामा पत्रमा उनले आन्दोलनको फाइदा राष्ट्रविरोधी शक्तिले उठाउन नपाउन् भन्ने आफ्नो उद्देश्य रहेको खुलाएका छन्।

गत मे ३ मा भएको परीक्षामा गडबडी देखिएपछि सरकारले केन्द्रीय अनुसन्धान ब्युरोलाई छानबिनको जिम्मा दिएको थियो। उनले पुरानो परीक्षा रद्द गरेर फेरि परीक्षा गराएको र अर्को वर्षदेखि कम्प्युटरबाटै परीक्षा लिने व्यवस्था मिलाएको बताए। फेरि भएको परीक्षामा २० लाखभन्दा बढी विद्यार्थी सहभागी भएको र कुनै पनि योग्य विद्यार्थीको भविष्य बिग्रन नदिने उनको भनाइ छ। उनले आफ्नो राजीनामा पत्रमा प्रधानमन्त्री मोदी र आफ्ना सहकर्मीहरुलाई धन्यवाद पनि दिएका छन्।

यस विवादलाई लिएर अहिले भारतभर विरोध प्रदर्शन जारी छ। यही क्रममा सामाजिक अभियन्ता सोनम वाङचुक जन्तर मन्तरमा २६ दिनसम्म अनशन बसेका थिए। घटनापछि भारत सरकारले प्रश्नपत्र चुहावट रोक्न विशेष अदालत र कार्यदल बनाएर कडा कानुन ल्याउने तयारी गरिरहेको छ।