खेलौनाको सहारामा हुर्किएको अनाथ बाँदर ‘पन्च’को पहिलो जन्मदिन
- ०९ साउन २०८३
- १ मिनेटको पढाई
टोकियो- जापानको एउटा चिडियाखानामा रहेको अनाथ बाँदर ‘पन्च’ले आफ्नो पहिलो जन्मदिन मनाएको छ। जन्मेको दिनमै आमाले छाडेपछि एउटा खेलौनाको सहारामा हुर्किएको यो बाँदर अहिले संसारभर लोकप्रिय बनेको छ।
गत वर्ष जन्मिएलगत्तै आमाले वास्ता नगरेपछि चिडियाखानाका कर्मचारीले पन्चलाई हुर्काएका थिए। सानोमा केही कुरा समात्न सिक्न सजिलो होस् भनेर उनीहरूले ओरङउटानको एउटा नरम खेलौना दिएका थिए। सुरुमा अन्य बाँदरले तर्साउँदा डराएर त्यही खेलौनालाई अङ्गालो हाल्ने पन्च, अहिले भने ५० भन्दा बढी बाँदरको हुलमा मज्जाले घुलमिल भएर खेल्न थालेको छ।
गत फेब्रुअरीमा खेलौना बोकेको उसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि चिडियाखानामा उसलाई हेर्न आउनेको भीड लाग्न थालेको थियो। चिडियाखानाका प्रमुख ताकासी यासुनागाले पन्चको जन्मदिनमा देशविदेशबाट २५ सयभन्दा बढी शुभकामना कार्ड आएको बताए। अहिले चिडियाखानामा ‘पन्च जन्मदिन प्रदर्शनी’ नै आयोजना गरिएको छ, जहाँ उसका पुराना भिडियो र शुभकामना कार्डहरू राखिएका छन्।
खेलौनासँगको उसको मायालु स्वभाव र अन्य बाँदरसँग मिल्न गरेको सङ्घर्षले धेरैको मन छोएको छ। कोबे सहरकी कुमी इशिजावाले बिरामी हुँदा पन्चको सङ्घर्ष देखेर आफूले पनि निको हुने प्रेरणा पाएको र अहिले निको भएर प्रत्यक्ष भेट्न आएको बताइन्। त्यसैगरी, स्थानीय बासिन्दा येये लाइट्सले पन्चको जन्मदिन मनाउन केक लिएर आएको बताउँदै उसको राम्रो हेरचाह गर्ने कर्मचारीलाई धन्यवाद दिइन्।