चीनमा नुल आँधीको त्रासः २० हजार मानिस सुरक्षित स्थानमा, रेल सेवा बन्द
- १० साउन २०८३
- १ मिनेटको पढाई
चीन- नुल आँधीको खतरा बढेपछि चीनको दक्षिणी क्षेत्रबाट २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। भारी वर्षा र आँधीबेहरी आउने सम्भावना बढेपछि चिनियाँ अधिकारीहरूले उनीहरूलाई सुरक्षित ठाउँमा लगेका हुन्। यसका साथै त्यहाँका रेल सेवा पनि रोकिएका छन्।
चीनको मौसम विभागले शनिबार साँझदेखि आइतबार बिहानसम्म हङकङदेखि गुआङडोङसम्मको समुद्री किनारमा आँधी आउने अनुमान गरेको छ। गुआङडोङ र फुजियान प्रान्तमा भारी वर्षा हुने भन्दै दोस्रो ठूलो खतराको संकेत स्वरूप ‘सुन्तला चेतावनी’ जारी गरिएको छ। समुद्रमा माछा मार्न गएका जहाजहरू पनि सुरक्षित बासको लागि बन्दरगाहमा फर्किएका छन्।
आइतबार आँधीको असर कम भएपछि मात्रै रेल सेवा फेरि सुरु गरिनेछ। गुआङडोङको चाओझोउ सहरमा विद्यालय र क्याम्पसका पढाइ पनि रोकिएका छन्।
यसै महिना आएको मेसाक आँधीले ल्याएको बाढीमा परेर गुआङ्सीमा ३९ जना र हुबेई प्रान्तमा ११ जनाको ज्यान गएको थियो भने ३३१ जना घाइते भएका थिए। मौसमविद्हरूले पृथ्वीको तापक्रम बढेसँगै यस्ता चरम मौसमी प्रकोप अझै बढ्ने चेतावनी दिएका छन्।