११ साउन २०८३, सोमवार
27 July 2026, Monday

राष्ट्र संघका महासचिव गुटेरेस सिरियामा : पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

राष्ट्र संघका महासचिव गुटेरेस सिरियामा : पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

न्युयोर्क- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार सिरियाको राजधानी दमास्कसको भ्रमण गरेका छन्। सन् २००९ पछि राष्ट्र संघका कुनै पनि महासचिवले सिरिया भ्रमण गरेको यो नै पहिलो पटक हो। यस ऐतिहासिक भ्रमणका क्रममा उनले सिरियाको पुनर्निर्माणमा राष्ट्र संघले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सिरियाका विदेश प्रमुख असाद अल-शैबानीसँगको संयुक्त पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले सिरियाली जनताको साहसको प्रशंसा गरे। उनले लामो समयदेखि ठूलो कष्ट झेले पनि सिरियाली जनताले देशप्रतिको माया र सहनशीलता नगुमाएको बताए। गम्भीर द्वन्द्वबाट बाहिर निस्किरहेको देशले एक्लै पुनर्निर्माण गर्न नसक्ने भन्दै उनले सिरियालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।

गुटेरेसले इजरायलको कब्जामा रहेको गोलान हाइट्स सिरियाकै भूभाग भएको अडान दोहोर्‍याउँदै सिरियाको सार्वभौमसत्ता उल्लङ्घन बन्द हुनुपर्नेमा जोड दिए। यस्तै, विदेश प्रमुख अल-शैबानीले यो भ्रमणले राष्ट्र संघ र सिरियाबीच नयाँ सम्बन्धको सुरुवात भएको बताए। उनले अहिलेको मुख्य प्राथमिकता पुनर्निर्माण भएकाले बाँकी रहेका सबै प्रतिबन्धहरू हट्नुपर्ने माग राखे।

सिरिया अब मानवीय राहतको चरणबाट माथि उठेर दिगो विकासतर्फ अघि बढेको र हालसम्म ३५ लाख सिरियाली शरणार्थी स्वदेश फर्किसकेको शैबानीले जानकारी दिए। दमास्कस भ्रमणका क्रममा महासचिव गुटेरेसले सिरियाका अन्तरिम नेता अहमद अल-शरासँग पनि भेटवार्ता गरेका थिए।