फ्रान्स र स्पेनमा भीषण डढेलो: प्रभावित क्षेत्रमा पुगेर म्याक्रोंले भने- ‘हामी यो लडाइँ जित्नेछौं’
- १२ साउन २०८३
- १ मिनेटको पढाई
फ्रान्स- फ्रान्सको दक्षिण-पश्चिम क्षेत्रमा भीषण डढेलो लागेको छ। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों सोमबार डढेलो प्रभावित क्षेत्रमा पुगेका छन्। त्यहाँ पुगेर उनले आगो निभाउने टोलीलाई उच्च मनोबल राख्न आग्रह गर्दै यो लडाइँ सबै मिलेर जित्ने बताए। उनले यसलाई दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब आगलागीको संकट भनेका छन्।
डढेलोले पेरिस सहरभन्दा चार गुणा ठूलो क्षेत्र सखाप पारेको छ। फ्रान्सको एउटै क्षेत्रबाट २ लाख २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आगो निभाउने टोलीले सोमबार डढेलो थप फैलनबाट रोके पनि मंगलबारदेखि फेरि गर्मी बढ्ने पूर्वानुमानले चिन्ता थपिएको छ।
यता स्पेन र इटालीमा पनि डढेलोले ठूलो क्षति पुर्याएको छ। स्पेन र फ्रान्समा गरी ३ लाख ३० हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्। स्पेनको राजधानी म्याड्रिड नजिकै लागेको डढेलो देशकै हालसम्मको ठूलो भएको अधिकारीहरूले बताएका छन्। त्यस्तै, इटालीमा पनि डढेलो फैलिएपछि समुद्री तटबाट करिब ३ सय पर्यटकको उद्धार गरिएको छ।