१४ साउन २०८३, बिहिबार
30 July 2026, Thursday

अमेरिका-इरान युद्ध रोक्ने प्रयासमा प्रगति, ड्रोन आक्रमण भने जारी

अमेरिका-इरान युद्ध रोक्ने प्रयासमा प्रगति, ड्रोन आक्रमण भने जारी

न्युयोर्क- अमेरिका र इरानबीचको युद्ध रोक्न मध्यस्थकर्ताहरूले गरिरहेको प्रयासमा केही प्रगति भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन्। पछिल्लो तीन दिनयता दुवै देशले एकअर्कामाथि आक्रमण गरेका छैनन्। यद्यपि, क्षेत्रका अन्य भागमा भने सशस्त्र समूहहरूले सानातिना आक्रमण गरिरहेका छन्। साउदी अरबले इराकस्थित इरान समर्थित समूहले प्रहार गरेका ड्रोनहरू खसालेको बताएको छ भने यमनका हुथी विद्रोहीले पनि साउदीको तेल केन्द्रमा आक्रमण गरेको दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कडा प्रहार गरेपछि इरानले थप वार्ता गर्न चाहेको बताएका छन्। उनले वार्ता राम्रो भइरहेको र केही सकारात्मक नतिजा आउने आश गरे। कतार र पाकिस्तानको नेतृत्वमा रहेका मध्यस्थकर्ताहरूले अमेरिका र इरानलाई पुनः युद्धविरामको अवस्थामा फर्काउन प्रयास गरिरहेका छन्। इरानले अमेरिकासँग सीधै वार्ता नभएको बताए पनि मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको प्रष्ट पारेको छ।

अहिले विश्वभर तेल आपूर्तिका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलडमरू बन्द छ। इरान र ओमानले यस क्षेत्रमा कसरी सुरक्षित रूपमा पानीजहाज चलाउने भन्ने विषयमा छलफल गरिरहेका छन्। यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार वासिङ्टनमा ट्रम्पलाई भेट्ने कार्यक्रम छ। इजरायल र अमेरिकाले इरानमाथि सुरु गरेको युद्धमै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका थिए।