१३ साउन २०८३, बुधबार
29 July 2026, Wednesday

इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। कुटनीतिक समाधानका लागि अर्को अवसर दिँदै हाललाई आक्रमणको निर्णय स्थगित गरिए पनि संवादबाट नतिजा ननिस्किए पुनः सैन्य कारबाही सुरु गर्ने उनले स्पष्ट पारेका हुन्।

अनलाइन न्युज पोर्टल ‘एक्सियोस’ लाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानसँग गम्भीर वार्ता भइरहेको बताए। “यदि यसबाट सकारात्मक नतिजा निस्किएन भने हामी पुनः कडा सैन्य कारबाहीमा फर्किनेछौँ,” उनले भने। कुटनीतिक समाधानका लागि धेरै समय नभएको उल्लेख गर्दै यो प्रक्रिया छिट्टै टुंगिने वा अघि नबढ्ने उनले बताए।

मध्यस्थकर्ता मुलुकहरू र क्षेत्रीय साझेदारहरूको आग्रहमा शुक्रबारका लागि तय गरिएको सैन्य आक्रमण रोकिएको ट्रम्पको भनाइ छ। अमेरिकी दबाबका कारण इरानी सैन्य शक्ति कमजोर भएपछि मात्र इरान वार्ताका लागि तयार भएको दाबी उनले गरे। “हामी राम्रो कुराकानी गरिरहेका छौँ, हेरौँ के हुन्छ। वार्ता सफल भए राम्रो, नभए हामी दुई दिनअघिकै स्थितिमा फर्किनेछौँ,” उनले भने।

इरानको मुद्दामा अमेरिकी प्रशासन र इजरायली सरकारको धारणा समान रहेको ट्रम्पले बताए। साथै, हर्मोज जलसन्धि पार गर्ने क्रममा जहाजहरूमाथि भएको आक्रमणको क्षतिपूर्ति अमेरिकाको नियन्त्रणमा रहेको इरानी सम्पत्तिबाटै असुल गरिने उनले दोहोर्‍याए।

क्षेत्रीय स्रोतहरूका अनुसार ओमान र इरानबीचको वार्तामा केही प्रगति भएको छ, तर हालसम्म कुनै औपचारिक सम्झौता भने भइसकेको छैन।