अमेरिकालाई युद्धको समय तोक्न नदिने इरानको चेतावनी
- १२ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले संयुक्त राज्य अमेरिकालाई युद्धको अन्त्य र समय तोक्ने अनुमति नदिने स्पष्ट पारेका छन्। इरानको अर्धसरकारी समाचार एजेन्सी मेहरका अनुसार सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन्।
अमेरिका विगत पाँच महिनादेखि दलदलमा फसेको टिप्पणी गर्दै बाघेईले भने, “हामी अमेरिकी पक्षलाई युद्ध र शान्तिको समय निर्धारण गर्न दिने छैनौँ। आवश्यक परेको समयसम्म हामी आफ्नो प्रतिरक्षा गर्नेछौँ।”
ओमानसँगको वार्ताका सम्बन्धमा बोल्दै उनले हर्मुज जलसन्धिको व्यवस्थापनका विषयमा भइरहेको छलफलमा अमेरिकाको कुनै संलग्नता नरहेको बताए। उनले उक्त वार्तालाई सकारात्मक भन्दै यो इरान र ओमानबीचको द्विपक्षीय मामिला मात्र भएको स्पष्ट पारे। साथै, उक्त जलमार्ग हाल बन्द रहेको जानकारी पनि उनले दिए।
प्रवक्ता बाघेईले केही खाडी मुलुकहरू इरानविरुद्धको अमेरिकी युद्धमा संलग्न रहेको दाबी गरे पनि यसबारे थप विवरण भने दिएनन्।
यसैबीच, क्यास्पियन सागरमा युक्रेनले इरानी व्यावसायिक जहाजमाथि गरेको आक्रमणप्रति कडा आपत्ति जनाउँदै उनले यसको अप्रत्याशित परिणाम हुने चेतावनी दिए। सप्ताहन्तमा भएको उक्त आक्रमणमा परी एक नाविकको मृत्यु भएको थियो।
सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै बाघेईले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इजरायलको इसारामा युरोपलाई युद्धमा तान्नका लागि यो कदम चालेको आरोप लगाए। उनले यस कार्यलाई संयुक्त राष्ट्रसंघको बडापत्रको घोर उल्लङ्घन र पूर्णतः अवैध भन्दै इरानले यसको कडा जवाफ दिने बताए।