अमेरिका-इरान युद्धविराम निरन्तरता दिन जोर्डन र राष्ट्रसंघको आग्रह
- १२ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- जोर्डनका उपप्रधानमन्त्री तथा विदेशमन्त्री आयमान सफादी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच सोमबार अम्मानमा भेटवार्ता भएको छ। जोर्डनको परराष्ट्र मन्त्रालयका अनुसार भेटमा पछिल्लो क्षेत्रीय घटनाक्रम र सुरक्षा चुनौतीबारे गहन छलफल भएको थियो।
भेटका क्रममा दुवै पक्षले अमेरिका र इरानबीचको युद्धविरामलाई निरन्तरता दिनुपर्ने, तनावको मूल कारण सम्बोधन गर्न वार्ता पुनः सुरु गर्नुपर्ने र हर्मुज जलसन्धिमा सहज जलयात्रा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
प्यालेस्टाइनी क्षेत्रको अवस्थाबारे चर्चा गर्दै विदेशमन्त्री सफादीले गाजा युद्धविराम योजना तत्काल कार्यान्वयन गर्न आग्रह गरे। उनले मानवीय सहायता सामग्री प्रवेशमा इजरायलले लगाएको प्रतिबन्ध हटाउनुपर्ने र वेस्ट बैंकमा जारी इजरायली सैन्य कारबाही रोक्न अन्तर्राष्ट्रिय समुदायले थप प्रयास गर्नुपर्ने बताए।
यस्तै, दुवै पक्षले प्यालेस्टाइनी शरणार्थीका लागि काम गर्ने संयुक्त राष्ट्रसंघीय राहत नियोगलाई निरन्तर अन्तर्राष्ट्रिय सहयोग उपलब्ध गराउन आह्वान गरेका छन्। शरणार्थीहरूलाई अत्यावश्यक सेवा प्रवाह गर्ने यस निकायको कार्यादेश जोगाउनुपर्ने उनीहरूको निष्कर्ष थियो।
भेटमा सिरियाको पछिल्लो अवस्थाबारे पनि कुराकानी भएको थियो। दुवै नेताले सिरियाको एकता, सार्वभौमसत्ता र स्थिरताको समर्थन गर्दै त्यहाँ भइरहेका इजरायली आक्रमण अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे। साथै, क्षेत्रीय शान्ति र स्थिरताका लागि जोर्डन र संयुक्त राष्ट्रसंघबीच निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।