१३ साउन २०८३, बुधबार
29 July 2026, Wednesday

इरानसँगको पछिल्लो द्वन्द्वमा चार अमेरिकी सैनिकको मृत्यु, २०७ घाइते

इरानसँगको पछिल्लो द्वन्द्वमा चार अमेरिकी सैनिकको मृत्यु, २०७ घाइते

न्युयोर्क- अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत जुलाईदेखि इरानसँगको सैन्य द्वन्द्व पुनः सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन्।

पेन्टागनको तथ्यांकअनुसार जुलाई २५ सम्म इरानविरुद्धको अमेरिकी सैन्य अभियान ‘एपिक फ्युरी’ का क्रममा कुल १४ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ४१७ जना घाइते भएका छन्। रक्षा मन्त्रालयले हालै ‘ओभरसिज अपरेसन’ नामक नयाँ श्रेणी थपेर जुलाई ७ देखिका घटनालाई छुट्टै सूचीकृत गरेको छ, जसमा चार जनाको मृत्यु र २०७ जना घाइते भएको उल्लेख छ।

मृतकहरूको नाम सार्वजनिक गरिए पनि घाइतेहरूको समय, स्थान र घटनाको प्रकृतिबारे विस्तृत विवरण दिइएको छैन। घाइते भएका सबै २०७ जना यही द्वन्द्वसँग सम्बन्धित हुन् वा होइनन् भन्नेमा पेन्टागनले आधिकारिक धारणा स्पष्ट पारेको छैन।

अमेरिकी कानुनअनुसार संसद्को पूर्वस्वीकृतिबिना राष्ट्रपतिले सेनालाई ६० दिनभन्दा बढी समय युद्धमा खटाउन पाउँदैनन्। ट्रम्प प्रशासनले जुलाई १० मा संसद्लाई पत्र पठाउँदै जुलाई ७ मा हर्मुज जलसन्धि भएर जाने व्यापारिक जहाजमाथि इरानले गरेको आक्रमणलाई अघिल्लो युद्धविरामको उल्लङ्घन भनेको थियो। ह्वाइट हाउसले जुलाई ७ लाई नै इरानसँगको नयाँ चरणको द्वन्द्वको सुरुवात मानेको छ।