अमेरिका र साउदीको हवाई आक्रमणमा २० इराकी लडाकु मारिए, इराकद्वारा कडा निन्दा
- १४ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- इराकको अर्धसैनिक बल पिएमएफले बुधबार बगदादमा आफ्ना मारिएका सदस्यहरूको अन्त्येष्टि जुलुस निकालेको छ। अमेरिका र साउदी अरबले गरेको संयुक्त हवाई आक्रमणमा ज्यान गुमाएका सदस्यहरूको सम्झनामा यो शोक सभा गरिएको हो।
बुधबार इराकका विभिन्न ठाउँमा रहेका पिएमएफका अखडाहरूमा अमेरिका र साउदीले हवाई आक्रमण गरेका थिए। यो आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन्।
अमेरिकी सेनाको केन्द्रीय कमाण्डले एक विज्ञप्ति निकाल्दै यो आक्रमण गरेको पुष्टि गरेको छ। अमेरिकी सेना र साउदीको ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणको जवाफ दिन इरान समर्थित लडाकुमाथि यो कारबाही गरेको अमेरिकी सेनाले बताएको छ।
पिएमएफ इराक सरकारले मान्यता दिएको सशस्त्र समूह हो। आइएसविरुद्धको लडाइँपछि यसलाई औपचारिक रूपमै इराकी सेनामा सामेल गरिएको थियो।
यसैबीच, इराकको राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार यो हवाई आक्रमणको कडा निन्दा गरेको छ। परिषद्ले देशको रक्षा गर्न र सुरक्षा व्यवस्था बलियो बनाउन नयाँ सुरक्षा योजना पनि पास गरेको छ।