३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

मध्यपूर्वमा तनाव बढेपछि कच्चा तेलको मूल्य ५ प्रतिशतले बढ्यो

मध्यपूर्वमा तनाव बढेपछि कच्चा तेलको मूल्य ५ प्रतिशतले बढ्यो

न्युयोर्क- मध्यपूर्वमा इरानले गरेको मिसाइल आक्रमण अमेरिकी सेनाले विफल पारेको दाबी गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले बढेको छ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानको रिभोलुसनरी गार्डसले अमेरिकी फौजलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल हानेको थियो। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै अमेरिकी सेनाले ती सबै मिसाइलहरू बीचमै नष्ट पारिएको र आफ्ना सैनिकहरू उच्च सतर्कतामा रहेको बताएको छ।

सैन्य तनाव बढेपछि त्यसको सीधा असर ऊर्जा बजारमा देखिएको छ। वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य ५.१ प्रतिशतले बढेर प्रति ब्यारेल ८३.३० अमेरिकी डलर पुगेको छ। पछि यो वृद्धिदर केही घटेर ३ प्रतिशतमा अडिएको थियो।

यसअघि अमेरिका र इरानबीच वार्ता सुरु हुने र तनाव घट्ने आशामा लगातार तीन दिन तेलको मूल्य घटेको थियो। तर नयाँ आक्रमणले फेरि बजारमा अन्योल बढाएको छ।

बजार विश्लेषकहरूका अनुसार मध्यपूर्वको यो तनावले तेल बजारमा जोखिम बढाएको छ। यदि दुई देशबीचको तनाव अझै बढ्दै गएमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्न सक्ने उनीहरूको अनुमान छ।