१५ साउन २०८३, शुक्रबार
31 July 2026, Friday

इङ्ल्यान्डमा गर्मीको कहर: दुई महिनामै झन्डै ३ हजारको मृत्यु

इङ्ल्यान्डमा गर्मीको कहर: दुई महिनामै झन्डै ३ हजारको मृत्यु

न्युयोर्क- इङ्ल्यान्डमा यस वर्षको मे र जुन महिनामा अत्यधिक गर्मीका कारण २ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ। बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले बुधबार यो अनुमानित तथ्याङ्क सार्वजनिक गरेको हो।

यो सङ्ख्या सन् २०२५ को पूरै गर्मी मौसममा ज्यान गुमाउनेको तुलनामा झन्डै दोब्बर हो। गत वर्ष गर्मीबाट १५ सय ४ जनाको ज्यान गएको थियो। एजेन्सीका प्रमुख रस थम्पसनले अत्यधिक गर्मीले मानिसको स्वास्थ्यमा गम्भीर खतरा पैदा गरेको बताए। स्वास्थ्य मन्त्री इभेट कुपरले पहिले जाडोमा धेरै बिरामी हुने बेलायतमा अहिले गर्मीले हजारौँलाई गम्भीर असर गरिरहेको बताइन्।

सार्वजनिक गरिएको तथ्याङ्कमा जुलाई महिनाको विवरण समावेश छैन। जुलाईमा पनि लामो समय लू चलेकाले ज्यान गुमाउनेको कुल सङ्ख्या अझै बढ्ने र सन् २०२६ को मृत्युदर अहिलेसम्मकै उच्च हुन सक्ने एजेन्सीले जनाएको छ। तथ्याङ्कअनुसार मे महिनामा ७ सय ५३ र जुनमा २ हजार १ सय २४ जनाको मृत्यु भएको थियो।

बेलायत सरकारलाई सल्लाह दिने जलवायु परिवर्तन समितिले देश गर्मीको सामना गर्न अझै तयार नरहेको चेतावनी दिएको छ। सन् २०५० सम्ममा बेलायतका ९२ प्रतिशत घर अत्यधिक तातो हुन सक्ने भन्दै समितिले कार्यस्थलमा तापक्रमको सीमा तोक्न तथा अस्पताल र विद्यालयजस्ता सार्वजनिक भवनमा वातानुकूलित यन्त्र जडान गर्न सरकारलाई सिफारिस गरेको छ।