१८ साउन २०८३, सोमवार
3 August 2026, Monday

हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा को हुन्?

हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा को हुन्?

न्युयोर्क- पाकिस्तानको गिलगिट-बाल्टिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार गएको हिमपहिरोमा परी ज्यान गुमाएका ब्रिटिश-नेपाली आरोही निर्मल पुर्जा (निम्सदाइ) वर्तमान पर्वतारोहण क्षेत्रका सर्वाधिक चर्चित व्यक्तिमध्ये एक थिए।

एलिट एक्सपेडिसन कम्पनीका अनुसार हिमपहिरोमा परेर ज्यान गुमाउने १० जनामध्ये उनी पनि एक हुन्। उनको शव करिब ५,७०० मिटरको उचाइमा फेला परेको थियो। उनले थुप्रै कीर्तिमान राखेका थिए। सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल ६ महिनाभन्दा केही बढी समयमा आरोहण गरेर उनले विश्व कीर्तिमान बनाएका थिए।

सैन्य जीवनदेखि पर्वतारोहणसम्म
४३ वर्षीय पुर्जाको जन्म नेपालको म्याग्दी जिल्लाको करिब १,६०० मिटर उचाइमा रहेको एउटा सानो गाउँमा भएको थियो। उनी गोर्खा सैनिक परिवारबाट आएका थिए। बुबा र दाजुहरूको पदचाप पछ्याउँदै उनी सन् २००३ मा १८ वर्षको उमेरमा गोर्खा सैनिकमा भर्ना भए भने सन् २००९ मा बेलायती विशेष सेना (युके स्पेसल फोर्सेस) मा प्रवेश गरे।

बेलायती सेनामा १६ वर्ष बिताउने क्रममा उनमा पर्वतारोहणप्रति रुचि जागेको थियो। उनको वेबसाइटका अनुसार सन् २०१२ मा सगरमाथा आधार शिविर पुगेपछि काठमाडौं फर्कनुको सट्टा उनले ‘वास्तविक’ पर्वतारोहण सिक्ने निधो गरे। लगत्तै उनले ६,११९ मिटर अग्लो लोबुचे इस्ट हिमाल चढेका थिए।

अन्तिम आरोहण र योजना
सामाजिक सञ्जाल ‘एक्स’ मा सोमबार लेखेको आफ्नो अन्तिम पोस्टमा उनले सुरुमा ब्रोड पिक चढ्ने योजना नरहेको बताएका थिए। उनको योजना काराकोरम हिमशृङ्खलाकै अर्को हिमाल ‘गाशेरब्रुम-२’ (जी-२) मात्र चढ्ने थियो। तर पाकिस्तान जानुअघि उनले ब्रोड पिक पनि चढेमा विना अक्सिजन १४ वटै हिमाल दुई पटक चढ्ने इतिहासकै पहिलो व्यक्ति बन्न एक कदम मात्र बाँकी रहने महसुस गरे। उनले जुलाइ २१ मा गाशेरब्रुम-२ को सफल आरोहण गरेका थिए, जुन उनको ५७औँ ८ हजार मिटरभन्दा अग्लो हिमालको आरोहण थियो।

आलोचना र विवाद
चर्चासँगै उनले आलोचकहरूको पनि सामना गरे। सन् २०२४ मा न्युयोर्क टाइम्समा प्रकाशित एक लेखमा दुई महिलाले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए। सन् २०२३ मा एउटा होटलको कोठामा र सन् २०२२ मा के-२ हिमालको आरोहणमा जाँदा उनले दुर्व्यवहार गरेको आरोप लगाइएको थियो। यद्यपि, पुर्जाले आफ्ना वकिलमार्फत ती आरोपहरूलाई अस्वीकार गरेका थिए।

१४ हिमाल र चर्चा
उनको पर्वतारोहणको सफलतालाई कदर गर्दै सन् २०१८ मा महारानी एलिजाबेथ द्वितीयले उनलाई ‘एमबिई’ सम्मान प्रदान गरेकी थिइन्। सन् २०१९ मा उनले ६ महिना ६ दिनमै १४ वटै हिमाल चढेर कीर्तिमान बनाए, जसलाई ‘प्रोजेक्ट पोसिबल’ नाम दिइएको थियो। पछि सन् २०२३ मा नर्वेजियन आरोही क्रिस्टिन हारिलाले ३ महिना १ दिनमा ती हिमाल चढेर उनको कीर्तिमान तोडेकी थिइन्।

पुर्जाको उक्त यात्रामाथि ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ नामक वृत्तचित्र पनि बनेको छ। यो अभियान पूरा गर्न उनले आफ्नो घर नै धितो राख्नुपरेको थियो, जसमा उनकी पत्नी सुचीले साथ दिएकी थिइन्।

कठिन र जोखिमपूर्ण यात्राका बाबजुद पनि उनी रमाइलो गर्न चुक्दैनथे। बिच बिचमा आरोहीहरूको उद्धार गर्नेदेखि लिएर राति क्याम्पमा पार्टी गर्ने र रक्सी पिउनेसम्मका काम उनी गर्थे। वृत्तचित्रमा उनी ‘ह्याङओभर’ कै अवस्थामा एउटा हिमाल चढेको देखाइएको छ। सन् २०१९ को मे महिनामा सगरमाथाको चुचुरो नजिकै आरोहीहरूको लामो लाइनको तस्बिर खिचेर उनले भाइरल बनाएका थिए, जसले हिमालमा हुने भिडभाड र जोखिमबारे विश्वभर बहस चलाएको थियो।

आरोहणमा सफल भएपछि उनी नेपालमा एक सुपरस्टारको रूपमा चिनिए। उनले एलिट एक्सपेडिसन नामक गाइड कम्पनी र पर्वतारोहणका कपडाको ब्रान्ड स्थापना गरे। विदेशी आरोहीहरूलाई सघाउने नेपाली गाइडहरूको कामलाई थप मान्यता दिनुपर्ने भन्दै उनले वकालत समेत गर्दै आएका थिए। आफ्नो अन्तिम पोस्टमा उनले लेखेका थिए, “यो उनीहरूप्रति समर्पित छ जसले मलाई यहाँसम्म ल्याए। समर्थक। आलोचक। तपाईंहरू सबै। दुवै पक्षबिना आगो बल्दैन। त्यसैले साँच्चिकै धन्यवाद।”