२० साउन २०८३, बुधबार
5 August 2026, Wednesday

‘हेलो सरकार’मा गुनासोको ओइरो, अब सबै समस्या एउटै प्रणालीबाट सुनिने

‘हेलो सरकार’मा गुनासोको ओइरो, अब सबै समस्या एउटै प्रणालीबाट सुनिने

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो छिटो र प्रभावकारी रूपमा सुन्न ‘हेलो सरकार’लाई सुधार गर्ने तयारी गरेको छ। अब गुनासो सुन्ने र समाधान गर्ने कामलाई एउटै एकीकृत प्रणालीमा जोडिनेछ।

हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले यसका लागि नयाँ अवधारणा र कार्ययोजना तयार पारिएको बताए। उनका अनुसार फोन, वेबसाइट, इमेल र सामाजिक सञ्जालबाट आउने सबै गुनासोलाई अब एउटै पोर्टलबाट व्यवस्थापन गरिनेछ।

अब नागरिकले सिधै सम्बन्धित कार्यालयमा वा हेलो सरकारको स्वचालित प्रणालीमार्फत आफ्नो गुनासो दर्ता गर्न सक्नेछन्। निःशुल्क नम्बर ११११ मा आएको फोनलाई सीधै सम्बन्धित मन्त्रालय वा निकायमा पठाउने र त्यहाँबाट पनि सेवा नपाए उक्त गुनासो फेरि हेलो सरकारमै फर्किने व्यवस्था मिलाइँदै छ। यसले गर्दा एउटै कामका लागि नागरिकले धेरै कार्यालय धाउनुपर्ने झन्झट अन्त्य हुनेछ।

नयाँ व्यवस्थाअनुसार अब अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी ३ दिनभित्र, जरुरी ७ दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र समाधान गर्नुपर्नेछ। गुनासो समाधान भइसकेपछि सम्बन्धित व्यक्तिलाई जानकारी दिने र उनीहरूबाट सुझाव लिएपछि मात्र गुनासो फर्स्योट भएको मानिनेछ। एउटै व्यक्तिले एउटै विषयमा पटक-पटक गुनासो गरेमा त्यसलाई एउटै मानेर व्यवस्थापन गरिनेछ।

एक वर्षमै ३२१ प्रतिशतले बढे गुनासा

पछिल्लो समय ‘हेलो सरकार’मा नागरिकको गुनासो ह्वात्तै बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा गुनासो ३२१ प्रतिशतले बढेको कार्यालयले जनाएको छ। अघिल्लो वर्ष १६ हजार ५६८ गुनासा आएकामा गत वर्ष यो सङ्ख्या बढेर ६९ हजार ७२४ पुगेको थियो।

उपसचिव सापकोटाले सरकारप्रतिको विश्वास र अपेक्षा बढेका कारण गुनासो धेरै आएको बताए। तथ्याङ्क हेर्दा पछिल्लो ५ वर्षमा दर्ता भएका कुल गुनासामध्ये ५६ प्रतिशत त गत वर्ष मात्रै आएका हुन्।

यसैगरी, पछिल्लो तीन महिनामा मात्र हेलो सरकारमा ५० हजारभन्दा बढी गुनासा दर्ता भएका छन्। तीमध्ये झन्डै ३९ हजार गुनासा समाधान भइसकेका छन् भने बाँकी प्रक्रियामा छन्। चालु आर्थिक वर्षको साउन १ देखि १८ गतेसम्म मात्रै ९ हजार ६१० वटा गुनासा प्राप्त भएको कार्यालयले जनाएको छ।