१९ भदौ २०८३, शुक्रबार
4 September 2026, Friday

गोली लागेर १२ वर्षीय छोराको ज्यान गएपछि आमाले मागिन् ‘जेकब्स ल’

गोली लागेर १२ वर्षीय छोराको ज्यान गएपछि आमाले मागिन् ‘जेकब्स ल’

न्युयोर्क- ब्रोंक्समा साइकल चलाइरहेका १२ वर्षीय जेकब फ्रेसको गोली लागेर मृत्यु भएपछि उनकी आमाले नयाँ कानुन ल्याउन माग गरेकी छन्। मिग्दालिया मार्टिनेजले लापरवाहीका कारण बालबालिकाको ज्यान लिनेलाई कडा सजाय दिन ‘जेकब्स ल’ नामक कानुन प्रस्ताव गरेकी हुन्।

दुई हप्ताअघि पसल बाहिर साइकल चलाइरहेका जेकबलाई अन्धाधुन्ध चलेको गोली लागेको थियो। यो प्रस्तावित कानुनले लापरवाहीपूर्ण काम गरेर बालबालिकाको हत्या गर्नेलाई सीधै जन्मकैदको सजाय दिने व्यवस्था गर्नेछ। “मेरो छोरा साइकल चलाउनुको सट्टा अहिले अस्तु बनेर बसेको छ,” आमा मार्टिनेजले भनिन्, “बालबालिका मार्ने जो कोहीले पनि जीवनभर जेलमा बिताउनुपर्छ भन्ने म चाहन्छु।”

प्रहरीका अनुसार पाँच जनाबीच भएको झगडाका क्रममा ४५ वर्षीय विलियम फेररले चलाएको गोली जेकबलाई लागेको थियो। फेररलाई पक्राउ गरी हत्याको मुद्दा चलाइएको छ, तर उनले आफ्नो आरोप अस्वीकार गरेका छन्। न्युयोर्क राज्यकी महान्यायाधिवक्ताकी उम्मेदवार सरिता कोमाटिरेड्डीले पत्रकार सम्मेलनमा भनिन्, “यो कानुनले प्रस्ट सन्देश दिन्छ– यदि कसैले बालबालिकाको ज्यान लिन्छ भने, उसले आफ्नो बाँकी जीवन जेलमै बिताउनुपर्छ।”

मारिएका जेकब अवकाश प्राप्त प्रहरी अधिकारीका छोरा थिए। उनी पनि भविष्यमा बुबाजस्तै प्रहरी बन्ने सपना देख्थे।