म्यानहट्टनमा ४४औँ डोमिनिकन डे परेड सम्पन्न, हजारौँ सहभागी
- २५ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कस्थित म्यानहट्टनमा आइतबार ४४औँ राष्ट्रिय डोमिनिकन डे परेड आयोजना गरिएको छ। सिक्स्थ एभिन्युमा भएको यस कार्यक्रममा डोमिनिकन संस्कृति र एकताको खुसी साट्न हजारौँ मानिस सहभागी भए।
क्यारेबियन धुन र परम्परागत सङ्गीतबाट सुरु भएको परेडमा नाचगान र झाँकीहरु प्रस्तुत गरिएका थिए। यस वर्षको नारा ‘पहिचान र संस्कृति’ राखिएको थियो। न्युयोर्कमा बस्ने डोमिनिकन नागरिक वेन्डी मारिन्सले जहाँ गए पनि आफ्नो संस्कृति सँगै लैजाने भन्दै गर्व महसुस भएको बताइन्। मानिसहरुको उत्साह र समर्थन देख्दा निकै खुसी लागेको उनको भनाइ छ।
अर्की सहभागी मेलानी जिमेनेजले आफ्ना आमाबुवा राम्रो जीवनको खोजीमा अमेरिका आएको बताउँदै आप्रवासीहरुको सङ्घर्ष र सफलता देखाउन यो कार्यक्रम महत्त्वपूर्ण भएको बताइन्। कार्यक्रममा डोमिनिकन मात्र नभएर अन्य समुदायका मानिसहरुले पनि एकअर्कालाई साथ दिन सहभागिता जनाएका थिए।
परेडमा न्युयोर्क प्रहरीको ब्यान्ड र अग्नि नियन्त्रकहरु पनि रमाइलो गर्दै सहभागी भएका थिए। यसैगरी, न्युयोर्ककी गभर्नर क्याथी होचुल, महान्यायाधिवक्ता लेटिसिया जेम्स र न्युयोर्क सहरका मेयर जोहरान मम्दानीले पनि परेडमा मार्च गरे।
कार्यक्रममा विभिन्न चर्चित व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो। डा. रामोन तल्लाजलाई ‘ग्रान्ड मार्सल’ बनाइएको थियो भने गोया फुड्सलाई विशेष सम्मान प्रदान गरिएको थियो। परेडभरि डोमिनिकन झण्डा फहराइएको थियो।