बाबुको हत्या गरी घर जलाउने छोरा तीन दिनपछि पक्राउ
- २५ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कको हडसन भ्यालीमा आफ्नै बाबुको हत्या गरी घरमा आगो लगाएर भागेका एक व्यक्ति तीन दिनपछि पक्राउ परेका छन्। ३२ वर्षीय थोमस डेभिड रायनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले ग्रिनभिलमा रहेको ७० वर्षीय बाबु रोबर्ट रायनको हत्या गरेर घरमा जानीजानी आगो लगाएका थिए। बिहीबार जलेको घरभित्र बाबुको शव भेटिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएको छ।
गाडी देखिएको भन्ने स्थानीयको सूचनाका आधारमा प्रहरी टोलीले उनलाई गिल्बोआ भन्ने ठाउँबाट पक्राउ गरेको हो। पक्राउ पर्नुअघि नै घाइते भएका उनलाई अहिले उपचारका लागि अस्पताल लगिएको छ। स्वास्थ्य अवस्थामा सुधार आएपछि उनीमाथि मुद्दा चलाइने प्रहरीले जनाएको छ।