राष्ट्रपति ट्रम्पद्वारा बालबालिकाको खोप तालिका घटाउने कार्यकारी आदेश जारी
- २६ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालबालिकालाई दिइने खोपको सङ्ख्या घटाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। नयाँ आदेश अनुसार सबै बालबालिकाका लागि सिफारिस गरिने खोपको सूची १८ बाट घटाएर ११ मा झारिएको छ।
यसअघि अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले ल्याएको यस्तै प्रस्तावलाई अदालतले रोकेको थियो। ट्रम्पको नयाँ आदेशले मन्त्री केनेडीको सोही प्रस्तावलाई पुनः अघि बढाएको छ।
नयाँ व्यवस्था अनुसार कोभिड, इन्फ्लुएन्जा, रोटाभाइरस, हेपाटाइटिस ‘ए’, हेपाटाइटिस ‘बी’ र मेनिन्जाइटिस जस्ता खोपलाई अनिवार्य सिफारिसको सूचीबाट हटाइएको छ। यी खोप लगाउने वा नलगाउने निर्णय अभिभावक र डाक्टरको आपसी परामर्शमा छाडिनेछ।
दादुरा, रुबेला, गलगाँड, पोलियो, धनुष्टङ्कार, लहरेखोकी र ठेउला जस्ता ११ रोग विरुद्धका खोप भने सबै बालबालिकाका लागि निरन्तर सिफारिसमा रहनेछन्।
यस्तै नयाँ आदेशले संयुक्त रूपमा दिइने खोपलाई अलग-अलग गरी फरक समयमा दिनुपर्ने सुझाव पनि दिएको छ। तर, चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरूले भने ट्रम्पको यो कदमको कडा आलोचना गरेका छन्। खोपको समय र मात्रा फेर्दा अभिभावकलाई व्यावहारिक बोझ बढ्ने र बालबालिकामा रोगको जोखिम थपिने उनीहरूको भनाइ छ।
कानुनी विशेषज्ञहरूका अनुसार यो आदेशविरुद्ध पनि अदालतमा चुनौती दिइनेछ र यो तत्काल लागू हुन कठिन देखिन्छ।