अमेरिकामा इतिहासकै सबैभन्दा गर्मी महिना: तापक्रमले १३२ वर्षको रेकर्ड तोड्यो
- २६ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकामा गत जुलाई महिना इतिहासकै सबैभन्दा गर्मी महिना बनेको छ। राष्ट्रिय महासागर तथा वायुमण्डल प्रशासन (नोआ) ले सोमबार यसको पुष्टि गरेको हो।
नोआको रिपोर्ट अनुसार जुलाईमा अमेरिकाको औसत तापक्रम ७६.९ डिग्री फरेनहाइट पुगेको थियो। यो २०औं शताब्दीको औसत तापक्रमभन्दा ३.३ डिग्रीले बढी हो। यो आँकडा एजेन्सीको १३२ वर्ष लामो रेकर्डमा अहिलेसम्मकै उच्च हो।
यस महिना अमेरिकाका प्रायः सबै भागमा अत्यधिक गर्मी र खडेरी महसुस गरियो। जुलाईको अन्त्यसम्ममा अमेरिका र पुर्टोरिकोको करिब ४० प्रतिशत क्षेत्रमा कडा खडेरी परेको थियो। यद्यपि, केही ठाउँमा भने मौसमको फरक रूप देखियो। टेक्सास र न्युयोर्क लगायतका क्षेत्रमा भारी वर्षा हुँदा बाढीको ठूलो समस्या पनि झेल्नुपरेको थियो।
वायोमिङ लगायत १३ वटा राज्यमा यो पटकको गर्मीले पुरानो रेकर्ड तोडेको छ। वायोमिङमा औसतभन्दा ५.१ डिग्री धेरै तापक्रम मापन भयो। उता, आइडाहो, उटाह र मोन्टाना राज्यका विभिन्न ठाउँमा तापक्रम १०९ देखि ११५ डिग्री फरेनहाइटसम्म पुगेर नयाँ रेकर्ड कायम भयो।
अत्यधिक गर्मी बढेसँगै प्रशान्त उत्तर-पश्चिम क्षेत्रमा ठूला डढेलोहरू लागेका छन्। ओरेगन राज्यमा डढेलोका कारण हजारौं मानिसले घर छाडेर भाग्नुपरेको छ। वासिङ्टन, ओरेगनका साथै युरोप र क्यानडामा पनि डढेलोले सयौं संरचनाहरू नष्ट गरेको छ।
विश्वभर नै जलवायु परिवर्तनका कारण यस्ता चरम मौसमी अवस्थाहरू बढ्दै गएको वैज्ञानिकहरूले बताएका छन्। युरोपियन युनियनको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले पनि पश्चिम युरोपमा यो जुन र जुलाईको समय अहिलेसम्मकै सबैभन्दा गर्मी रहेको उल्लेख गरेको छ। समुद्रको सतहको तापक्रमले पनि नयाँ रेकर्ड बनाएको छ।