११ भदौ २०८३, बिहिबार
27 August 2026, Thursday

बाढी प्रभावितलाई सहयोग गर्न भारत र चीन तयार, सरकारद्वारा सङ्कटग्रस्त क्षेत्र घोषणा

बाढी प्रभावितलाई सहयोग गर्न भारत र चीन तयार, सरकारद्वारा सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौं- रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार र राहतका लागि भारत र चीनले नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेका छन्। सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत दुवै देशसँग कुराकानी भइरहेको र उनीहरूले आवश्यक सहयोग गर्ने जानकारी दिएको बताए।

बाढीपछि बसेको मन्त्रिपरिषद् बैठकले उद्धारका लागि सरकारी र निजी हेलिकप्टर प्रयोग गर्ने निर्णय गरेको छ। प्रवक्ता पोखरेलका अनुसार सरकारले घाइतेहरूको निःशुल्क उपचार गर्ने, घर बगाएकालाई बास र खानाको व्यवस्था गर्ने, तथा सडक, खानेपानी, विद्युत् र सञ्चार सेवा छिट्टै सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।

यसैगरी, सरकारले मृतकका परिवारलाई तत्काल आर्थिक सहयोग दिने र प्रभावित क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ। उद्धारका लागि हेलिकप्टर चाहिएमा आपत्कालीन नम्बर १२३४ मा फोन गर्न सरकारले आग्रह गरेको छ।