स्याटलाइट तस्बिरले खुलायो भोटेकोशी बाढीको कारण: हिमपहिरोले ल्यायो विपत्ति
- १० भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा हिमपहिरो जाँदा भोटेकोशीमा भीषण बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्लानेट ल्याबको स्याटलाइट तस्बिर हेरेर प्राधिकरणले यस्तो निष्कर्ष निकालेको हो।
प्राधिकरणका अनुसार हिमपहिरो खसेपछि सिमानाकै ल्हेन्दे खोलामा लेदोसहितको बाढी आएको थियो। त्यही बाढी टिमुरे हुँदै त्रिशूली नदीमा पसेको देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका सौहार्द जोशीले पनि स्याटलाइट तस्बिरबाट निकालिएको यही सूचना नै अहिलेसम्मको सबैभन्दा भरपर्दो भएको बताए।
यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा बोल्दै बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पले गर्दा हिमपहिरो झरेर बाढी आएको हुन सक्ने प्रारम्भिक जानकारी आएको बताए। उनले यसलाई अझै पुष्टि गर्न बाँकी रहेको जानकारी दिए।
बुधबार बिहान एक्कासि आएको बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मै ठूलो क्षति पुर्याएको छ। बाढीले जलविद्युत् आयोजना, टिमुरे भन्सार कार्यालय, पुल र धेरै घरहरू भत्काएको छ। महाशाखाका अनुसार नदी थुनिएको ठाउँ अझै पूरै नखुलिसकेकोले भोटेकोशी र त्रिशूली आसपासका क्षेत्रमा अझै जोखिम भने कायमै छ।