२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

बाढीले १० प्रतिशत बिजुली उत्पादन प्रभावित, १९६ कर्मचारी र मजदुर बेपत्ता

बाढीले १० प्रतिशत बिजुली उत्पादन प्रभावित, १९६ कर्मचारी र मजदुर बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कूल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार बाढीले विद्युत् उत्पादन र प्रसारण संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

प्रारम्भिक विवरणअनुसार ४३१.१ मेगावाट क्षमताका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन् भने निर्माणाधीन ४७० मेगावाटका १५ आयोजनामा क्षति पुगेको छ। यस्तै, त्रिशूली २२० केभी सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ र धेरै ठाउँका प्रसारण लाइन तथा टावरहरूमा क्षति पुगेको छ। बाढीका कारण रसुवामा विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएको छ भने नुवाकोट, धादिङ र गोरखाका केही क्षेत्रमा आंशिक असर परेको छ।

विभिन्न जलविद्युत् आयोजनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा मजदुरहरू सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। मन्त्री श्रेष्ठले हालसम्म विद्युत् प्रणालीलाई सन्तुलित राखिएको र वैकल्पिक माध्यमबाट आपूर्ति नियमित गर्ने प्रयास भइरहेको बताएका छन्।