११ भदौ २०८३, बिहिबार
27 August 2026, Thursday

रसुवागढी बाढी: भन्सारका १५ कर्मचारी बेपत्ता, प्रमुखसहित ८ जनाको उद्धार

रसुवागढी बाढी: भन्सारका १५ कर्मचारी बेपत्ता, प्रमुखसहित ८ जनाको उद्धार

काठमाडौं- रसुवागढी क्षेत्रमा आएको बाढीले भन्सार प्रशासन र नाकाको व्यापारमा ठूलो क्षति पुर्‍याएको छ। साँझ ८ बजेसम्मको विवरण अनुसार रसुवागढी भन्सार कार्यालयका १५ जना कर्मचारी अझै सम्पर्कविहीन छन्।

बाढीमा परी घाइते भएका भन्सारका नायब सुब्बा धर्मराज शाही र तिलक पराजुलीलाई उद्धार गरी काठमाडौँ ल्याइएको छ। उनीहरूको अहिले नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। अर्थमन्त्रीले अस्पताल पुगेर घाइते दुवै जना र उनीहरूसँगै उद्धार गरिएका जलविद्युत् आयोजनाका कर्मचारी धनबहादुर थापा मगरलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

यसैगरी, रसुवागढी भन्सार प्रमुखसहित ८ जना कर्मचारीको हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ। भन्सार विभाग आइपुगेका उनीहरूलाई भेटेर अर्थमन्त्रीले घटनाबारे जानकारी लिए। भन्सारका थप ८ जना कर्मचारी अहिले पनि रसुवागढीमै छन्। मन्त्रालय र भन्सार प्रशासनको सम्पर्कमा रहेका उनीहरूको उद्धार गर्ने प्रयास निरन्तर भइरहेको छ।