१२ भदौ २०८३, शुक्रबार
28 August 2026, Friday

बाढीपीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन, ४ सय बढीको उद्धार

बाढीपीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन, ४ सय बढीको उद्धार

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। आज बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

नुवाकोटस्थित नेपाली सेनाको क्याम्पमा आज बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले अवरुद्ध सडक र पूर्वाधार छिटो सञ्चालनमा ल्याउन भनेका छन्। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार प्रधानमन्त्रीले संकटको समयमा सरकार जनताको साथमै रहेको बताउँदै राहत र सहयोगको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाए। उक्त बैठकमा मन्त्रीहरु, प्रधानसेनापति र सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले प्रधानमन्त्रीको निर्देशनपछि सबै निकायलाई उच्च सतर्कतामा राखेर काम भइरहेको बताए। जिल्लामा आएका राहत सामग्री प्रशासनको समन्वयमा एकद्वार प्रणालीबाट प्रभावित क्षेत्रमा पठाइएको छ। दूरसञ्चार सेवा सुचारु गर्न हेलिकप्टरबाट जेनेरेटर पठाएर बिजुली आपूर्ति गरिएको उनले जानकारी दिए। धेरै पुलहरु बगेकाले अस्थायी पुल बनाउने विषयमा संयन्त्रमा छलफल भइरहेको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म हेलिकप्टरमार्फत ६४ विदेशीसहित ४१४ जनाको उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म २६ जनाको शव फेला परेको छ। फेला परेकामध्ये ८ वटा शव काठमाडौँ पठाइएको छ। घरबारविहीन भएका करिब १२ सय जनालाई जिल्लाका विभिन्न ७ वटा अस्थायी आश्रयस्थलमा राखिएको छ।