भोटेकोशी बाढी: ३५९ जनाको शव फेला, ९ सय बढी अझै बेपत्ता
- ११ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा १३२ जनाको शव भेटिएको छ। यसैगरी नवलपरासी पूर्वमा ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७९६ जनालाई हेलिकप्टरबाट र ७५६ जनालाई जमिनबाट उद्धार गरिएको छ। आज मात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन्। हेलिकप्टरबाट ५० जना विदेशी नागरिकको पनि उद्धार गरिएको छ। प्राधिकरणका अनुसार अझै ९१० जना सम्पर्कविहीन छन्। हराउनेमा ५१७ विदेशी नागरिक, १२७ विदेशमा बस्ने नेपाली तथा सेना, प्रहरी, भन्सारका कर्मचारी र स्थानीय बासिन्दा छन्।
बाढी प्रभावित रसुवा र नुवाकोटलाई एक-एक करोड र धादिङलाई ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ। प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, ब्ल्याङ्केट जस्ता सामग्रीसहित १० ट्रक राहत पठाइएको छ। सञ्चार उपकरणसहित हेलिकप्टरबाट पनि ४ उडान गरी खाद्य तथा अन्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको प्राधिकरणले जनाएको छ।