१२ भदौ २०८३, शुक्रबार
28 August 2026, Friday

बाढी प्रभावितको उद्धार तीव्र: १३ हजार बढी सुरक्षाकर्मी परिचालन

बाढी प्रभावितको उद्धार तीव्र: १३ हजार बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत र उद्धारको काम तीव्र पारिएको छ। विपद्मा परेका नागरिकको ज्यान बचाउन १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्।

उद्धारका लागि नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना प्रत्यक्ष रूपमा खटिएका छन्। सडक बन्द भएका कारण सुरक्षाकर्मीले हवाई र पैदल दुवै बाटोबाट उद्धारको काम अघि बढाएका छन्।

पैदल पुग्न कठिन भएका ठाउँहरुमा हेलिकप्टरबाट द्रुत उद्धार गरिएको छ। नेपाली सेना र निजी हेलिकप्टरले ६९ पटक उडान भरेर जोखिममा परेका ३५१ जनालाई सुरक्षित ठाउँमा पुर्‍याएका छन्। बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न ठाउँमा फसेका दुई सयभन्दा बढीलाई उद्धार गरेर विदुरस्थित नेपाली सेनाको तालिम केन्द्रमा राखिएको छ।

खराब मौसम र नदीको ठूलो बहावका बीच पनि सुरक्षाकर्मीहरूले ज्यान जोखिममा राखेर निरन्तर उद्धार गरिरहेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले बाँकी क्षेत्रमा पनि खोजी र राहत वितरणको कामलाई अझ बढाउँदै लगेका छन्।