भोटेकोशी बाढी: सुरुङमा फसेकाको उद्धार गर्न ८२ सुरक्षाकर्मी खटिए
- १३ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- भोटेकोशीमा आएको बाढीपछि त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसलाई निकाल्न ८२ जना सुरक्षाकर्मी खटिएका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएअनुसार नेपाली सेनाका ६२ जनासहित सशस्त्र र नेपाल प्रहरीको टोली यो काममा लागेको छ। सेनाको नेतृत्वमा शुक्रबारदेखि नै लगातार उद्धार भइरहेको छ। शुक्रबार मात्रै सुरुङबाट १९१ जनालाई सकुशल बाहिर निकालिएको थियो।
आज बिहान ८ बजेसम्ममा बाढीबाट प्रभावित २ हजार २६५ जना स्वदेशी तथा विदेशीलाई सेनाको हेलिकप्टरबाट सुरक्षित ठाउँमा पुर्याइएको छ। उनीहरुलाई रसुवाको टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट उद्धार गरिएको हो।
बाढी प्रभावित जिल्लाहरुमा सेनाका करिब ६ हजार ७ सय जवान खटिएका छन्। उनीहरुले अन्य निकायसँग मिलेर घाइतेको खोज तथा उद्धार, तत्काल उपचार र राहत सामग्री बाँड्ने काम गरिरहेका छन्।