१९ भदौ २०८३, शुक्रबार
4 September 2026, Friday

बाढीमा पुरिएकी सात वर्षीया बालिकाको चार दिनपछि जीवितै उद्धार

बाढीमा पुरिएकी सात वर्षीया बालिकाको चार दिनपछि जीवितै उद्धार

काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीको चार दिनपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिकाको आज दिउँसो जीवितै उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बलको २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो। गम्भीर घाइते अवस्थामा भेटिएकी उनलाई हेलिकप्टरमार्फत तत्काल रसुवा जिल्ला अस्पताल धुन्चे पुर्‍याइएको थियो।

धुन्चे अस्पतालका वरिष्ठ सर्जन डा. सुनीलकुमार दासका अनुसार बालिकाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।

बालिकाकी आमा गीता इचाइ मगर र बुबा लोकबहादुर उचाइलाई पनि सोही स्थानबाट उद्धार गरी उपचारका लागि यसअघि नै नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइसकिएको सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले जानकारी दिए। अर्घाखाँची स्थायी घर भएका उनीहरू टिमुरेस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत थिए।