१४ भदौ २०८३, आइतवार
30 August 2026, Sunday

नारायणी किनारमा भेटिएका बेवारिसे शव देवघाटको जंगलमा गाडिँदै

नारायणी किनारमा भेटिएका बेवारिसे शव देवघाटको जंगलमा गाडिँदै

काठमाडौं- रसुवाको बाढीबाट बगेर त्रिशूली हुँदै नारायणी नदी किनारमा पुगेका बेवारिसे शवलाई स्थानीय प्रशासनले आज गाड्ने भएको छ। बुधबारदेखि भेटिएका शव शनिबारसम्म पनि पहिचान नभएपछि गाड्ने तयारी गरिएको हो।

चितवनमा भेटिएका २ सय ३३ शवमध्ये शनिबार दिउँसोसम्म जम्मा ६ वटाको मात्र पहिचान खुलेको छ। पहिचान नभएका बाँकी शवलाई प्रशासनको निर्णयअनुसार भरतपुर महानगरपालिका–१ अन्तर्गत रामनगर–देवघाट सडकको जंगल क्षेत्रमा गाडिने छ। यसका लागि सुरक्षाकर्मीको रोहवरमा दुईवटा डोजर प्रयोग गरी जंगलको बीचमा खाल्डो खनिएको छ।

भविष्यमा पहिचान गर्न सहज होस् भनेर गाड्नुअघि सबै शवको डीएनए नमुना लिएर विशेष संकेत राखिएको छ। पछि दाबी गर्न आउने परिवारको डीएनए मिलेमा शव उनीहरूलाई जिम्मा लगाइनेछ। शव गाडिएको क्षेत्र सुरक्षित राख्न वरपर तारबार पनि गरिने प्रहरीले जनाएको छ।