१४ भदौ २०८३, आइतवार
30 August 2026, Sunday

भोटेकोसी बाढी: २६१ विदेशी पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

भोटेकोसी बाढी: २६१ विदेशी पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौं- रसुवाको भोटेकोसीमा बुधबार आएको बाढीमा फसेका २६१ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार शनिबार साँझसम्म गोसाइँकुण्ड र कैलाश मानसरोवर भ्रमणमा गएका १६ देशका पर्यटकलाई सुरक्षित स्थानमा ल्याइएको हो। बाढीमा परेर अझै ३२० जना पर्यटक सम्पर्कविहीन छन्।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले उद्धार गरिएकामा सबैभन्दा धेरै भारतका १६७ र चीनका ४० जना रहेको बताए। यसबाहेक अमेरिका, युक्रेन, जर्मनीलगायत अन्य देशका र परिचय नखुलेका २१ जना पर्यटकको पनि उद्धार भएको उनले जानकारी दिए।

अहिले पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र पर्यटक प्रहरीलगायतका निकायले बेपत्ता पर्यटकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्। घाइते र अलपत्र परेकाहरूलाई सुरक्षित ठाउँमा ल्याउन सबै प्रयास भइरहेको बोर्डले जनाएको छ।

घटनासम्बन्धी जानकारी वा सहयोगका लागि बोर्डले १२३४, ११४४ र पर्यटक प्रहरीको ९८५१२८९४४५ नम्बर सार्वजनिक गरेको छ।