१६ भदौ २०८३, मङ्लबार
1 September 2026, Tuesday

प्रधानमन्त्री राहत कोषमा एकैदिन ६० करोड जम्मा

प्रधानमन्त्री राहत कोषमा एकैदिन ६० करोड जम्मा

काठमाडौं- रसुवाका बाढीपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकैदिन ६० करोड २ लाख रुपैयाँ जम्मा भएको छ। विभिन्न ८३ वटा उद्योगी, व्यापारिक समूह र मनकारी व्यक्तिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेर यो रकम दिएका हुन्।

सरकारले भदौ ११ गतेदेखि अर्थ मन्त्रालयमार्फत राहत संकलन सुरु गरेको थियो। त्यसयता एकैदिन संकलन भएको यो सबैभन्दा धेरै रकम हो। सोमबार अर्थमन्त्री वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीले ६० करोड २ लाख २० हजार रुपैयाँभन्दा बढीको चेक बुझेका छन्।

यसअघि भदौ ११ गते २७ करोड ३३ लाख, १२ गते ३८ करोड ६० लाख र १४ गते ४ करोड ७९ लाख रुपैयाँका साथै २ लाख अमेरिकी डलर दाताहरूले दिएका थिए।

मन्त्रालयका अनुसार चार दिनमा अर्थमन्त्रीमार्फत कुल १ अर्ब ३० करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम राहत कोषमा जम्मा भएको छ। यसमध्ये ८० हजार रुपैयाँ नगद र बाँकी सबै एकाउन्ट पेयी चेक रहेका छन्। यसबाहेक २ लाख अमेरिकी डलरको चेक पनि मन्त्रालयले प्राप्त गरेको छ।